Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै, ठगी धन्दाको ओहिरो, चिठ्ठाको नाममा गुम्यो १ लाख २० हजार

धनगढी : सामाजिक सञ्जाल टाढा रहेका आफन्तहरुलाई नजिक बनाउने, खबरहरु आदान प्रदान गर्न सजिलो बनाउने एउटा माध्यम हो । तर, हिजोआज सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी धन्दा गर्नेहरु पनि सक्रिय बनेका छन् ।

सामाजिक सञ्जाल इमो चलाइरहेका बझाङका एक युवा पनि ठगहरुको निशानामा परेका छन् । बझाङ सुर्मा गाउँपालिकाका लक्ष्मण बोहराको सामाजिक सञ्जाल ‘इमो’ मा अन्जान नम्बरबाट फोन गर्दै एक जनाले ‘तपाईलाई ४० लाखको चिठ्ठा परेको छ’ भने ।

आफूलाई रबि बर्मा बताउने ती ब्यक्तिले ‘००९२३०७५९१४०११ नम्बरबाट लक्ष्मणलाई फोन गरेका थिए । पहिलो कलमा यति मात्रै जानकारी दिएपछि तुरन्तै अर्को कल गर्दै तिनै व्यक्तिले उनलाई चिठ्ठा परेको रकम लिन ३० हजार रुपैयाँ पठाउन आग्रह गरे । यतिखेर कल गर्ने मान्छे उही भएपनि नम्बर भने फरक थियो ।

दोस्रो पटक बोहरालाई ००९२३४८३८८१३७९ बाट फोन आयो । बोहराले त्यो सुनेपछि घरमा आमालाइ जानकारी गराए । पैसा आउने भएपछि आमा पनि फुरुङ्ग भइन् । लक्ष्मणले आमासँगै मागेर नेपालको सिराहा जिल्लामा बस्ने प्रविणराज पाण्डेयको नाममा मंसिर १६ गते ३० हजार रकम आइएमइ गरेर पठाए ।

३० हजार पठाएका बोहराले ४० लाख पाउने आशा गरिरहेका थिए । फेरि सोही नम्बरबाट आएको फोन हतार-हतार उठाए तर, फोनबाट थप रकम माग भयो । ‘दोस्रो पटक ५० हजार तीन सय रकम पठाउन भन्यो’ उनले भने ‘एकछिन त झुटो होकि सोचे तर, यसअघि पनि अरुले रकम पाएको भनेर चेक र ती व्यक्तिको विवरण पठाएपछि विश्वास लाग्यो ।

’ उनले विश्वास गरेर सिराहामा घर भएका विष्णु महराका नाममा १७ गते ५० हजार तीन सय रकम पनि पठाए । इमोबाटै आइएमइ नम्बर पनि टिपाइदिए । ८० हजार तीन सय रकम पठाएका बोहराले ४० लाख रकम पाउने आशा गरेपनि गत मंगलबार थप रकम माग भयो । उनलाई थप ४० हजार रकम पठाउन भनिएको थियो ।

आफूलाई इमो मार्फत पठाइएका फोटो, अडियो र चेक हेर्दा विश्वास लागेकाले उनले बुधबार मात्रै थप ४० हजार रकम राजेन्द्रप्रसाद सिंहको नाममा पठाईदिए । ४० लाख रकम पाउने आशामा उनले एक लाख २० हजार रकम गुमाए । बोहराले जब आफ्ना साथीहरुलाइ यो कुराको जानकारी गराए तब मात्रै उनले आफू ठगीएको थाहा पाए ।

धनगढीको एक होटलमा भेटिएका बोहराले भने ‘अझै त्यो व्यक्तिले ३० हजार मागिरहेको छ ।’ आफूले पठाएको रकम फिर्ता हुने आशा नरहेकोले प्रहरीमा उजुरी पनि नदिएको उनले बताए । यता, यस अघि पनि यस्तै घटनामा नवलपरासीबाट रकम फिर्ता गराइएको कैलाली प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमाफर्त ठगी भइरहेको उजुरीहरु फाट्टफुट्ट रुपमा आइरहेको कैलाली प्रहरीका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए । तर, अधिकाशले उजुरी नै नदिने गरेको उनले बताए । सामाजिक सञ्जालमा आएका यस्ता कलहरु बारे सचेत हुनुपर्ने र हतारमा पैंसा पठाइहाल्नुभन्दा प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरे

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्