Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३ करोडको लागतमा चितवनमा तटबन्धन निर्माण

चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो ।

आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु आठ करोड, कयर खोलामा रु १५ करोड राप्ती र केरुङ्गा रु ४/४ करोडको लागतमा तटबन्ध गर्न लागिएको हो ।

उक्त नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्यूरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा पनि तटबन्ध निर्माण गरिने छ ।

कयर खोलाको शक्तिखोर पुल २०० मिटर पूर्वबाट करीब ३ किमी दुवैतर्फ तटबन्ध गर्ने तयारी भएको प्रमुख शाक्यले बताए । भरतपुर महानगरपालिका हुँदै राप्ती मिसिएको केरुङ्गा घोलमा आवश्यक परेका ठाउँमा तटबन्धनका लागि अध्ययन भइरहेको छ । यसअघिका वर्षहरुमा नारायणी नदीमा मात्रै तटबन्धन गर्दै आएको आयोजनाले यस वर्षबाट अन्य स्थानमा पनि तटबन्धन गर्न शुरु गरेको हो ।

आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्धन नामबाट काम गर्दै आएको उक्त कार्यालय हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा गाभिएर आयोजनाको रुपमा विकास गरिएको हो । कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन बनाउन थालिएको थियो । हालसम्म नारायणी नदीमा तटबन्धनका लागि रु १ अर्ब ३० करोड खर्च भइसकेको उनले बताए ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्