Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राममनोहरलाई शहिद घोषणा गर्न माग गर्दै चक्काजाममा उत्रेका राउतका ५ कार्यकर्ता पक्राउ

नेपालगञ्ज : प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएका सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धका प्रमुख कार्यकर्ता राममनोहर यादवको घटनालाई लिएर चक्काजाम गर्ने प्रयास गरिएको छ । घटनाको विरुद्धमा स्वतन्त्र मधेश गठबन्धले आज नेपालगञ्जमा चक्काजामको अहवान गरेको थियो । तर शुक्रवार सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जको चौलिक्काचोक र गनापुरमा बसेर सडक अवरुद्ध गर्ने प्रयास गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । चौलिक्काचोकमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका अनबर खानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीसँगै रहेका अर्का एकजना भने प्रहरीलाई देखेपछि भागेका छन् ।

त्यस्तै, गनापुरमा बसेर सडक अवरुद्ध गर्ने प्रयास गरेका चार जनालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णु यादव, रामकुमार यादव, धनीराम यादव र दिनेश बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ ७ गते बर्दियामा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको भ्रमण हुँदा कालो झण्डा देखाउने प्रयास गरेका राममनोहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी हिरासतमा बिरामी भएका राममनोहरले नियमित खाने औषधी नपाएपछि बेहोस भई ढलेको र त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीले यसअघि नै बताइसकेका छन् । गठबन्धनका कार्यकर्ता राममनोहरको मृत्युलाई लिएर घरपरिवारको अगुवाईमा गठबन्धनका कार्यकर्ताले निरन्तर आन्दोलन गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जमा ज्ञापनपत्र दिनेदेखि धर्ना बस्ने काम गरिसकेका छन् ।

यति गर्दा पनि सुनुवाई नभएपछि गठबन्धनको सहयोगमा पीडित परिवार चक्काजाम गर्न सडकमा उत्रिएका थिए । आज सांकेतिक रुपमा चक्काजाम गर्ने र त्यसपछि पनि सुनुवाई नभए अनिश्चितकालिन चक्काजाम गर्ने विज्ञप्ती निकालेर चेतावनी दिइएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार नै सडक जाम गर्न निस्केका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ कानूनमा सार्वजनिक यातायात अवरुद्ध गर्नेलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । बाँके प्रहरीले पक्राउ परेकाहरुलाई यही कानून अनुसार कारबाही गर्ने तयारी गरेको छ । राममनोहरका परिवारले छानबिन समिति बनाउनु पर्ने, शहीद घोषणा गर्नुपर्ने, उनका बालबच्चाको शिक्षा र स्वास्थ्य हेर्नुपर्ने, उपप्रधानमन्त्री यादव, बर्दियाका तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्