Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्व.गिरिजालाई निकै प्यारो लाग्ने गाँउ सुनसरीको ‘शिशुवा धर्मपुर’मा अहिले बिजुली पुगेपछि …

सुनसरीको शिशुवा धर्मपुर जस्को एउटा छुटै पहिचान छ । सरकारी नक्सा अनुसार हाल हरिनगर गाउँपालिका–५ अन्तरगत पर्ने शिशुवा धर्मपुर साविकको बसन्तपुर गाविसका तात्कालिन वडा नम्बर ७ हुन् । भारत बिहार अररियाको सिमा क्षेत्र सँगै रहेको त्यो गाँउ जहाँ तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गाउँको आर्गेनिक लोकल भन्दै ‘काकरा, आँप र अम्बा’ खान बगैचा नै पुग्ने गर्थे ।

हो, उक्त शिशुवा धर्मपुरमा अहिले आएर बिजुली पुगेको छ । वर्षायाममा प्रायः ४ महिनासम्म डुबानमै रहने उक्त गाँउमा बिजुली पुग्दा गाँउले निकै खुशी भएका छन् । उक्त गाउँको केहि भाग साविकको नरसिंह गाविस हाल नरसिंह भोक्राहा गाउपालिका क्षेत्रमा समेत पर्ने सो गाँउमा मेहता, यादव र मंडल (कैवरत) को बसोवास छ ।

स्थानिय शिक्षक कालिचरण मेहताले गाँउमा बिजुली आएपछि गाँउलेमा निकै खुश्याली छाएको बताए । ‘चोरी डकैती यहाँको मुख्य समस्या हो’, उनले भने ‘अब बिजुली आएपछि हामिलाई केहि राहत महसुस भएको छ ।’

तात्कालिन गाविस उपाध्यक्ष ६० वर्षीय मधुसुदन मण्डलले त आफ्नो घरमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास नै गरेका थिएनन् । उनलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भने आशा पनि थिएन तर उनको बुढेसकालमा भएपनि विद्युत् बाल्ने सपना पूरा भएको छ । उनी भन्छन् ‘मर्नेबेलामा भएपनि बत्तीबाल्ने धोको पुरा भएको छ ।’

साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ अन्तरगतको उक्त गाँउ पर्ने त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश १ का मन्त्री जगदीशप्रसाद कुसियैत, काँग्रेस नेता हरि साप्कोटा लगायतका नेताहरु त्यही क्षेत्रबाट विजयी भए । तरपनि आवश्यक पर्ने दैनिक आवश्यक्ताबाट पनि त्यहाँका बासिन्दा वञ्चित हुँदै आएका थिए ।

तात्कालिन प्रधानमन्त्री स्वर्गिय कोइराला सुनसरी पुग्दा शिशुवा नगएको सायद कुनै समय नै हुदैन थियो । शिशुवा पुग्दा उनी भन्नेगर्थे ‘सुनसरी आएको बेला बीचमा शिशुवा नआउदा मनै खुशि हुँदैन ।’ स्थानिय ६३ वर्षिय रमानन्द मेहता भन्छन् – ‘यहाँ मेहताहरुको घना बस्ती भएकोले उहाँ “कोइरी”हरुले उब्जाएर बनेको लोकल आर्गेनिक चामल, दाल र तरकारी भन्दै उहाँ काठमाण्डौसम्म लाने गर्नुहुन्थ्यो ।’ मेहता भन्छन् -“‘मर्नेबेलामा समेत गिरिजाबाबुले हाम्रो गाँउलाई सम्झेर हामिले नै उब्जाएको चामलको भात खान माग्नु भएको थियो ।”

हो गिरिजा प्रसादको लगाव शिशुवासँग निकै थियो । सोही गाँउमा बंगाली टोल अर्थात कैवरतहरुको बस्ती समेत छन् । र गिरिजा प्रसाद बंगालीहरुले पकाएको माछा खान पनि त्यतीकै शौखिन थिए । बंगालीटोलका कालिपद मण्डल भन्छन् ‘मेरै घरमा उहाँले कयौं पटक माछाभात मागेर खानु भयो ।’ उनी भन्छन् ‘कोइरीहरुको तरकारी, बंगालीले पकाएको माछा र यही गाँउका यादवहरुको घरमा पाइने घोर (मही) को उहाँ निकै पारखी हुनुहुन्थ्यो ।’

अब त्यो क्षेत्रका स्थानीयमा निकै खुश्याली छाएको छ । खासगरी अहिलेको आधुनिक जवानामा समान्य आधार बिजुली उपभोग गर्ने समस्याबाट मुक्त भइएको स्थानीय दौलतकुमार मण्डलको भनाइ छ । उनले शहर बजार जाँदा आफूले देख्ने गरेको बिजुली आफ्नै गाँउमा आउदा निकै खुशी भएको बताए ।

लगभग ३०० घर परिवारको प्रतिकृया अहिले उस्तै रहेका छन् । गाउँमा लामो प्रयास र सङ्घर्षपछि विद्युत् आएपछि उनीहरुमा निकै रौनकता छाएको छ । हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहलमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको हो ।

काठमाण्डौ स्थित बसोवास रहेका अन्तर्राष्ट्रिय संचारमाध्यम एबिपि न्यूजका नेपाल प्रमुख वीेरेन्द्र केएमको बाल्यकाल पनि सोही गाँउमा बितेको हो । कक्षा ५ सम्म सोही गाँउमा अध्ययण गरेका केएमले पनि बिजुली ल्याउन निकै प्रयास गरेका थिए । बिभिन्न किसिमको प्रयास पछि विद्युत् आएपछि आफूहरुलाई सिँचाइ गर्न, खेतीपाती गर्न, काल कारखाना सञ्चालन गर्न सहज हुने स्थानीयको भनाइ छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विद्युत् आएकाले आफूलाई पनि खुशी लागेको बताउदै आफ्नो लक्ष्य नै अँध्यारोमा रहेको जनतालाई उज्यालो प्रदान गर्ने भएको बताए । ‘यस कार्यमा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुको सहयोग रहेका छन्’ उनले भने – ‘उहाँहरु सबैलाई उक्त गाँउका बासिन्दाको खुश्यालीले आशिष दिदैछन् ।’

पत्रकार केएमले आफ्नो समाजिक संजाल मार्फत उक्त गाँउको तस्विर राख्दै बिजुली आएकोमा खुशी ब्यक्त गरेका छन् । उनले लेखेका छन् -‘सुनसरी स्थित हाम्रो प्यारो “शिशुवाधर्मपुर” पनि अब “झलमल” भएको छ । गाउँमा बिजुली पुगेको छ । गर्व भईरहेको छ आज मलाई, किनकि मेरो पनि बाल्यकाल त्यहीँ गाउँमा बितेको हो । बोरा लिएर बिधालय जाने र राती लालटेनमा पढ्ने हाम्रो दिनचर्या थियो ।। 

वर्षमा ४ माहिना डुबानमै रहने यो गाउँ बिपि, गिरिजा, उपेन्द्र यादव जस्ता नेतालाई उदाएर पठाउने गाउँ पनि हो तर ती गाउँको विकासमा ध्यान भने यी महानुभावहरु कोही कसैले कहिँले पनि दिएनन् ।  यद्यपि समय फेरीएको छ त्यहीँ गाउँमा बाल्यकाल बिताएका यी वीरेन्द्रहरु अहिले आफैंले पहल गर्नसक्ने सम्म क्षमतावान भएका छन् र साथ दिने हातहरु पनि उतिकै बढिरहेका छन् ।

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्