Logo
१५ बैशाख २०८१, शनिबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्शिद हत्याबारे बिभिन्न चर्चाबीच सरकारद्वारा सहिद घोषणा : ‘आलम विरुद्ध कुनै आपराधिक मुद्दा छैन’

सुनसरी : सुनसरीको रामनगर भुटाहामा भएको गोली काण्डबारे बिभिन्न चर्चापरिचर्चा अलिरहँदा नेपाल सरकारले भने उक्त घटनामा मारिएका खुर्शिद आलम अन्सारी शहिद घोषणा गरेको छ । शुक्रवार अबेर रातीसम्म चलेको मन्त्रिपरिषद बैठकले खुर्शिदलाई शहिद घोषणा गर्दै क्षतिपुर्ती स्वरुप रु. १० लाख दिने निर्णय गरेसंगै शनिवार मुस्लिम परम्परा अनुसार उनको शवलाई अन्तिम संस्कार गरिएको छ ।

तर सरकारले शहिद घोषणा गरेतापनी खुर्सिद आलमको हत्या घटनालाई भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने विश्लेषण पनि उत्तिकै भइरहेको छ । औपचारिक रुपमा कुनै पनि निकायले केहि नबोलेपनि अनौपचारिक कुराकानीमा सबैको विष्लेषण त्यस्तै हुने गरेको छ ।

यद्यपी नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले उनी विरुद्ध नेपालमा कुनैखालको आपराधिक मुद्दा नरहेको र उनी प्रसिद्ध समाजसेवी तथा राजनीतीकर्मी समेत रहेका र हजारौं स्थानियको माग अनुसार उनलाई शहिद घोषणा गरिएको बताए ।

गोकुल बास्कोटा

शनिवार नागरिक टाइम्ससँगको विशेष कुराकानीमा उनले भने,‘भारतले के भन्छ, मिडियामा के आँउछ त्योसँग हामिलाई मतलव छैन । उनी नेपाली नागरिक हो र उनी विरुद्ध नेपालमा कुनै खालको मुद्दा वा उनी आपराधिक गतिबिधिमा रहेको त्यस्तो कुनै तथ्य छैन त्यसैले यसमा कुनै बहस गर्नुपर्ने आवश्यक्ता छैन ।’

‘उक्त घटनापछि स्थानिय मुस्लिम समुदायको आक्रोस समेत तपाँईलाई थाहैछ’, उनले भने – ‘उक्त घटनाको प्रतिरोधमा अर्को कुनै घटना नभढ्कियोस भन्ने सोचका साथ पनि सरकारले तत्कालै ठोष निर्णय लिएको हो ।’

जिल्लामा समाजसेवीको रुपमा परिचय बनाएका खुर्सिदलाई चिन्नेहरु भारतको आरोप झुठो भएको र भारतले नेपाली मुस्लिमहरुलाई हेर्ने दृष्टि नै दोषपूर्ण रहेको दावी गरेका छन । नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री भीम आचार्यले खुर्सिदलाई आफूले २०५१ सालदेखि चिनेको र चिनेदेखि उनको ब्यवहार शालिन, तार्किक र बौद्धिक रुपमा पाएको बताए ।

उनले भने,‘ उनी सधै सत्य र न्यायको पक्षमा वकालत गर्थे र गलत कुराको सिफारिस गर्न मसँग कहिल्यै आएनन ।  सञ्चारमाध्यमले उनको विषयमा गलत, भ्रमक र कपोकल्पित प्रचार गरेको देखेर म दुखिद् भएको छु ।’उनले थपे,‘ यस्तो सामान्य र सादगी मान्छे यस्तो काममा लाग्नै सक्दैन ।’

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नेपालका मुस्लिम समुदायलाई हेर्ने भारतीय दृष्टिकोण नै गलत भएको भन्दै ईमान्दार मुस्लिम समुदायलाई गलत आरोप लगाई मार्ने र न्याय पाउनबाट बञ्चित गराउने कार्य खेदपूर्ण भएको बताए ।नेकपाका केन्द्रीय सदस्य महफुज आलम अन्सारीले मुस्लिम समुदायले शिक्षा आर्जन गरेर मुलुकमा योगदान दिन खोज्दा झुठा आरोप लगाएर मार्ने र आतंकबादीको विल्ला भिराउने खेल रचिएको भन्दै खुर्सिद सुनसरीकै तार्किक र बौद्धिक ब्यत्तित्व भएको बताए ।

भारतले यसरी आतंकवादीलाई संरक्षण गरेको आरोप लगाउँदै आफूसमक्ष बुझाउन माग गरेको पृष्ठभूमिमा भारतबाटै मोटरसाइकल चढेर आएका व्यक्तिले खुर्सिदको हत्या गर्नु र उनीहरू भारततिरै भाग्नुले यो हत्यामा भारतको सरकारी तहकै मानिसहरूको संलग्नता पुष्टि हुने उच्च प्रहरी अधिकारीको तर्क छ । तर, यसरी नेपालमा पसेर भारतीयहरूले गर्दै आएको जघन्य एवं गैरन्यायिक हत्यामा नेपाल सरकारले अब भारतसँग कस्तो व्यवहार देखाउँछ, त्यो स्पष्ट हुन सकेको छैन ।

प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने विश्लेषण

हरिनगर गाउँपालिका वडा नम्बर २ रामनगर भुटाहा घर भएका आलमलाई उनकै घर अगाडि गोली हानी हत्या गरिएको घटनालाई भारतीय प्रतिआतंकवाद सेलको कारवाहीबाट मारिएको हुन सक्ने विश्लेषण हुन भइरहेको छ । स्थानीयबासीको आशंका पनि खुर्सिद भारतीय सुरक्षाकर्मीबाटै मारिएको हुन सक्ने भन्ने छ । नेपाल प्रहरीका उच्च अधिकारीहरु खुर्सिदको हत्या भारतीय प्रतिआतंकवाद सेलको कावाहीसँग मेल खाएको स्विकार गर्छन ।

‘जसरी टाउकोमा गोली हानिएको छ, त्यो यसअघिको घटनामा पनि देखिएका थियो’, नाम उल्लेख नगर्ने सर्तमा नेपाल प्रहरीका एक अधिकारीले भने, ‘बाइक रोकेपछि भाग्न खोज्दा खुट्टामा गोली हानिएको हुनसक्छ । त्यसपछि सिधै टाउकोमा गोली हानेको देखिन्छ ।’यो केश पूर्णतः फैजान अहमदको केशमा प्रयोग भएको अपराध शैलीसँग मिल्दोजुल्दो छ । यो शैली यसअघि भारतीय प्रतिआतंकवाद सेलसँग जोडिएका घटनासँग मिल्दोजुल्दो भएको प्रहरी अधिकारी बताउँछन् ।

भारतीय नक्कली नोटको कारोबार र आतंकवादी गतिविधिमा संलग्न भएको दाबी गर्दै भारतीय पक्षाबाट यसैगरी बारम्बार नेपाली नागरिकहरूको हत्या हुने गरेको छ । यस्ता घटनामा कसले गराएका थिए भन्ने जवाफ अहिलेसम्म प्रहरी प्रशासनले दिन सकेको छैन ।इस्लामिक संघका तत्कालीन महासचिव फैजानको ९ असोज २०६८ मा राजधानीको घन्टाघरमा यसैगरी गोली हानेर हत्या भएको थियो ।

यो केश पूर्णतः फैजान अहमदको केशमा प्रयोग भएको अपराध शैलीसँग मिल्दोजुल्दो छ’, प्रहरी स्रोतको दाबी छ, ‘लखनउको काउन्टर टेरोरिजम सेलसँग यो घटना जोडिएको मेरो अनुमान छ ।’ नेपाली नागरिक खुर्सिद अन्सारी धेरै पहिलेदेखि नै भारतीयहरूको टार्गेटमा रहेको बताईएको थियो । उनी भारतीयहरूको खोजीको सूचीमा रहेको नेपाल सरकारको समेत जानकारीमा थियो । तर, सरकारले आफ्नो नागरिकको सुरक्षा गर्न सकेन । फलस्वरुप भारततर्फबाट आएर भारततर्फ भागेका अपराधीहरुद्धारा उनको दिनदहाडै ब्यस्त चोकमा हत्या भयो ।

आरोप लगाउँदै हत्या गर्दै

भारतीय खुफिया एजेन्सीले नेपालभित्र प्रवेश गरेर जति पनि नेपालीहरूको हत्या गर्छ, उसले नक्कली नोट वा आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउने गरेको छ । खुर्सिद अन्सारीमाथि पनि उनीहरूको यस्तै आरोप थियो । र, यो आरोपको पृष्ठभूमिले पनि उनको हत्या भारतको सरकारी तहबाटै भएको अनुमान लगाउन सकिने प्रहरीदेखि स्थानीय बुद्धिजीविहरुको समेत विष्लेषण छ । सुनसरीमा रैय्यान नेशनल स्कुलका सञ्चालकका रुपमा रहेका अन्सारीलाई भारतले यसअघि ‘आतंकवादी’ को झुठा आरोप लगाउँदै खोजी गरिरहेको स्रोत बताउँछ ।

तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार समेत रहेका उनलाई भारतले खोजिरहेको तत्कालिन अवस्थामा विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए । नेकपा नेता वामदेव गौतम गृहमन्त्री भएका वेला पनि उनलाई भारतीय प्रहरीको जिम्मा लगाउन बिना प्रमाण आग्रह गरिएको थियो । तर भारतको आग्रहलाई नेपाल सरकारले अस्विकार गरेको थियो ।

२०७१ साल चैतमा भारतको मुस्लिम आतंकवादी संगठन (इण्डियन मुजाहिद्दिन) का ४ जना सदस्यले नेपाली नागरिकता र पासपोर्ट लिएको भारतीय प्रहरीको आरोप थियो । भारतीय पक्षको दाबीअनुसार त्यसरी नेपाली नागरिकता र पासपोर्ट लिनेमा डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख थिए ।

सहनवाजले ९ जुन २००९ मा ४४८५७०० नम्बरको नेपाली राहदानी लिएका थिए । उनले सटुनवाज मियाँ नाममा नेपाली नगारिकता लिएको भारतीय प्रहरीको दाबी थियो ।  त्यस्तै अबुले मोहम्मद अहुमद दुर्मन मियाँ, खनिदले इसादी आतम र शेखले मोहम्मद भट्टु अन्सारी नाममा नेपाली नागरिकता लिएको र उनीहरुले नेपाली राहदानी पनि बनाएको सूचना भारतीय प्रहरीले नेपाललाई दिएको थियो ।

अबुले ४५२२४५६, खलिदले ४५२२८५४ र सलमानले ४४२२०८५५ नम्बरको नेपाली राहदानी बनाएको भारतीय भनाइ थियो । आतंकवादी संगठनका ४ सदस्यलाई खुर्सिदले आफ्नो घरमा र विद्यालयमा शिक्षकको रुपमा आश्रय दिएको भारतले झुठा आरोप लगाएको थियो ।

घटनाको प्रवृति

-दुई ओटा मोटरसाईकलमा रहेका सुटरहरु मोटरसाईकल दु्रत गतिमा रहँदासमेत नलडियोस भनेर चालक र सवार दुबैले एक अर्कालाई बेल्टले बाधेका थिए ।

–पछाडि बस्ने दुबै सुटरले दुबै हातमा साईलेन्सरसहितको पेस्तोल बोकेका थिए । एउटा मोटरसाईकबाट टाउकोमा र अर्कोले छातीमा गोली प्रहार गरेका थिए ।

– भुटाहाबाट गोली हानेर भागेका सुटरहरुलाई बसन्तपुरका वडाध्यक्ष अताबुल मियाले बुलेट मोटरसाईकलबाट हल्ला गर्दै पछ्याउँदा समेत भेटन सकेनन ।

– अति तिब्र गतिमा हुईकिएका सुटरहरुको मोटरसाईकलाई त्यही हिसावले डिजाईन गरेर परिमार्जित गरिएको प्रत्यक्षदर्शीको दावी छ ।

– सुटरहरुहरु घुस्कीबाट मुलबाटोबाट जान खोज्दा केही महिलाले यता पुलिस छ, हिलो पनि छ भन्दै अर्कै चोरबाटोबाट सीमा कट्न सुझाव दिएका थिए ।

– सो क्रममा उनीहरुले अल्मलिएर दुई मिनेट त्यही मोटरसाईकल रोकेर छलफल गरेर भाग्ने बाटो तय गरेका थिए ।

–बसन्तपुरबाट स्थानीय पछ्याएपछि उनीहरुले दुबै हातमा पेस्तोल बोकेर तर्साउँदै हिडेका थिए ।

– खुर्सिदका छिमेकीसमेत रहेका अमिन मियाँले आफ्नै पछाडि बसेका खुर्सिदलाई गोली लागेर ढलेको समेत पत्तो नपाउँदा हत्यामा आधुनिक हतियारको प्रयोग भएको स्थानीयको दावी छ ।

–खुर्सिदमाथि प्रहार भएको गोली खोका हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसँग सुरक्षित छ । उनले उच्चस्तरीय छानविन टोलीलाई मात्रै दिने अडान लिएका छन ।

–सुटरहरुले भुटाहा बजारमा आएपछि मोटरसाईको नम्बर प्लेट उल्टाएर सादा बनाएका थिए ।

– घटनाबारे मातहतका युनिटबाट समेत जिल्लाका सुरक्षा र प्रशासन प्रमुखले सूचना नपाएको खुलेको छ ।

–घटनाको विषयमा काठमाडौंमा रहेका एमाले स्थायी कमिटी सदस्य भीम आचार्य, सँगै रहेका हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र नेकपा केन्द्रीय सदस्य महफुज आलमले सर्लाहीबाट टेलिफोन गर्दा सुरक्षा र प्रशासन प्रमुखलाई जानकारी नभएको खुलेको छ ।

हत्याबारे छानबिन गर्न समिति

गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न समिति बनाएको छ । प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक तुलसी प्रसाईँ, आन्तरिम मामिला तथा कानून मन्त्रालयका उप–सचिव रविन्द्र आचार्य र सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।

समितिले १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । मृतकको परिवार एवं पीडित पक्षलाई गृहमन्त्रीले काठमाडौंमा भेट्ने भन्दै त्यसका लागि व्यवस्था मिलाउन पनि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई दिर्नेशन दिइएको छ ।

स्थानीयले भने गृहमन्त्री आफैं उपस्थित भएर घटनाको छानबिन गर्ने प्रतिवद्धता नजनाएसम्म शव नउठाउने बताएका छन् । खुर्सिदको बिहीबार हरिनगरा गाउँपालिका भुटाहा बजारमा गोली हानी हत्या भएको थियो ।  त्यसैगरी घटनाको छानविन गर्न ३ सदस्यीय केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को टोली समेत काठमाडौबाट सुनसरी आईसकेको छ ।

घटनामा संलग्नहरुको पहिचान प्रमुख प्रथमिकतामा राखेर भारतीय प्रहरीको सहयोगमा अपराधीहरुको खोजी भइरहेको प्रदेश प्रहरी प्रमुख केदार रिजालले जानकारी दिए । त्यसैगरी भुटाहा प्रहरी र शसस्त्र प्रहरीको सीमा सुरक्षा बलको सबै प्रहरी नेतृत्व परिवर्तन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

आलमलाई सहिद घोषणको माग प्रति सरकारले क्याविनेटमा छलफल गर्ने समेत बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि केन्द्रबाट बनेको छानबिन टोलीलाई सहयोग गर्ने हिसाबले छुट्टै समिति गठन गरेको छ । अहिले घटनास्थलको अनुसन्धान र सीमा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

 

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्