Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार लेख्दा समातिएका पत्रकार बस्नेत साधारण तारेखमा रिहा

काठमाडौं : समाचार प्रकाशन गरेकै कारण साइबर क्राइमको अभियोगमा पक्राउ परेका पत्रकार राजु बस्‍नेत शुक्रबार साधारण तारेखमा रिहा भएका छन्। गत सोमबार महानगरीय प्रहरी परिसर ललितपुरले खोजतलास न्युजडटकमका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको थियो।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा बयानका लागि उपस्थित भएका बस्‍नेतलाई साधारण तारेखमा रिहा गर्ने फैसला भएको अधिवक्ता बाबुराम अर्यालले बताए । बयान सुन्‍नका लागि पत्रकारहरु जिल्ला अदालत परिसरमा उपस्थित भएका थिए भने उनको रिहाइका लागि नेपाल प्रेस युनियनले चौतर्फी दबाब दिँदै आएको थियो।

न्‍यायाधीश कृष्णप्रसाद पौडेलको एकल इजलासले पत्रकार राजु बस्‍नेतलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।  अर्यालले भने, ‘पत्रकार राजु बस्‍नेत जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएका छन्।’ इजलास नम्बर ९ मा पत्रकार बस्‍नेतले दिउँसो बयान दिएका थिए।

उनले ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकमा समाचार प्रकाशन गरेका थिए। यही समाचारलाई लिएर उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। उनले दृष्टिन्युज डटकममा प्रकाशित समाचारलाई कपी गरेर आफ्नो अनलाइन र पत्रिकामा प्रकाशित गरेका थिए।

यसअघि अनलाइनमा आएको न्युज सेयर गरेको भन्दै गत साता महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई जना पत्रकारलाई पक्राउ गरेको थियो।

 

 

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्