Logo
१९ बैशाख २०८१, बुधबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सत्तासिन राजपाले संविधानको विरोध गर्न मन्त्री नै खटाउने

जनकपुर : केन्द्र सरकारको समर्थक तथा प्रदेश २ मा सत्तासिन रहेका राष्ट्रिय जनता पार्टी (राजपा) ले असोज ३ गते संविधान दिवसको विरोधमा मन्त्री नै खटाएको छ । प्रदेश २ का मन्त्री र राज्यमन्त्रीलाई संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्न खटाएको हो । राजपाको अध्यक्ष मण्डलको भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको बैठकले निर्णय गर्दै संविधान दिवसको विरोधमा प्रदेश २ का मन्त्रीलाई खटाएको छ ।

निर्णयअनुसार संविधान दिवसको दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झालाई महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई रौतहट खटाएको छ ।

संविधान दिवसको दिन राजपाले गर्ने विरोध सभालाई यी मन्त्रीहरुले सम्बोधन गर्ने राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित पार्टीको पत्रमा उल्लेख छ ।

यस्तै, संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई त्यो दलको शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रमअनुसार नेता ठाकुर त्यो दिन प्रदेश २ को पर्सा र बारा, राजेन्द्र महतो प्रदेश ५ को बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्र राय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरतसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा खटाइएका छन्।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्