Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै दुई सय रोपनी क्षेत्रफलमा गाँजा फडानी

बागलुङ : अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा (लेकाली भाँगो) फडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय तारा खोलाबाट खटिएको प्रहरी टोलीले शनिबार नागी, औलासी, ठूलो हिले, सीप, भिरकुना लगायतको करीब दुई सय रोपनी क्षेत्रफलमा लगाइएको भाँगोका बोट नष्ट गरेको हो ।

वडा नं १, २ र ३ मा पनि गाँजा फडानी गरिने कार्यालयका प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिए । “बाँकी ठाउँको गाँजाखेती आइतबार र सोमबार नष्ट गर्ने तयारी छ,” उनले भने । व्यावसायिक भाँगो खेतीको नाममा गाँजा बनाउन प्रयोग गरेपछि फडानी गर्नुपरेको प्रहरीले जनाएको छ ।

वर्षेनी फडानी गर्दा र सचेतना दिँदा पनि स्थानीयवासीले गाँजा बनाउने उद्देश्यका लागि ठूलो मात्रामा भाँगो खेती गर्न छाडेका छैनन् । कतिपय ठाउँमा अझै प्रहरी प्रशासन पुग्न सकेको छैन । जिल्लाको विशेषगरी पश्चिम क्षेत्रमा गाँजाको अवैध उत्पादन, बेचबिखन र ओसारपसार हुने गरेको छ ।

यता, गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानून विपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ

प्रकाशित मिति: Aug 12, 2018

प्रतिक्रिया दिनुहोस्