Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न उच्च अदालतको परमादेशपछि बैठक बस्ने राजपाको तयारी

काठमाडौं : जनकपुर उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले बैठक बस्ने तयारी थालेको छ ।

राजपाबाट प्रदेश नम्बर २ मा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका अभिराम शर्मालाई उच्च अदालत जनकपुरले पक्राउ गर्न परमादेश दिएको हो । प्रहरीको फरार सूचीमा रहेका शर्मालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र रवि शर्माको संयुक्त इजलास बिहिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।

‘हिजो अदालतबाट जुन निर्णय आयो । यो चाहिँ अलि गम्भीर देखियो । त्यसकारण पार्टीले बसेर यसमा एउटा उपयुक्त निर्णय गर्छ । यसमा हामी बस्छौं ।’ यादवले भने– ‘अब अदालतले नै निर्णय गरिसकेपछि पार्टीले यसमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता छ बैठक बसेर यसमा के गर्न सकिन्छ, पार्टीले त्यही गर्छ ।’

फरार सूचीमा रहेका राज्यमन्त्री शर्मा लगायतका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्या भएका असई विककी श्रीमती शोभा गहतराजले २०७२ साल चैत २८ गते अदालतमा मुद्धा दायर गरेकी थिइन् । राज्यमन्त्री शर्मा असई थमन विकको हत्याका फरार अभियुक्त हुन् ।

केही समयअघि मात्र राजपाले राज्यमन्त्री बनाएका उनीसँगै अर्का अभियुक्त मिश्र पनि जलेश्वर नगरपालिकाका मेयर रहेका छन् । केही अभियुक्तहरु भने जलेश्वर कारागारमा थुनामा रहेका छन् ।

 

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्