Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन-सर्मथनका नाममा स्वास्थ्यकर्मीले सेवा रोके सरकारले कारवाही गर्ने

काठमाडौँ : आन्दोलन-सर्मथन आदिका नाममा सरकारले स्वास्थ्य सेवामा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिएको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकार संवेदनशील नभए नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार राति विज्ञप्ती प्रकाशित गरी स्वास्थ्य संस्थाको सेवाप्रवाह नरोक्न आग्रह गरेको हो। सेवाप्रवाह रोकिएमा अत्यावश्यक सेवा सम्बन्धि कानुन, विश्वविद्यालयको कानुन र चिकित्साकर्मीको आचारसंहिता बमोजिम कारवाही हुने विज्ञप्तीमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालद्वारा जारी विज्ञप्तीमा बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको अवस्थामा स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा निरन्तरता दिन अपिल गरिएको छ।

संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकार केसीको जीवनरक्षा र माग पुरा गर्न संवेदनशील नभए आकस्मिक बाहेक अस्पतालहरुको सेवा ठप्प पार्ने चेतावनी दिएका थिए। लगत्तै सरकारले विज्ञप्ति प्रकाशित गरि स्वास्थ्यकर्मीहरुलाई कारवाही गर्ने चेतावनी दिएको हो। सरकार र मन्त्रालय प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको विज्ञप्तीमा उल्लेख छ। केसीलाई काठमाडौं आएर उपचार गराउन आग्रह गरिएको छ।

साथसाथै चिकित्सा शिक्षामा गरिने सुधारका काममा सरकारलाई सहयोग गर्न मन्त्रालयले आव्हान गरेको छ। ‘डा. केसीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गरी जीवन रक्षा गर्न आवश्यक वातावरण सिर्जना गरी सहयोग गर्न चिकित्सक संघ लगायत सरोकारवाहरुलाई अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट छलफल भएर पारित हुने चरणमा रहेकाले अनशन जरुरी नरहेको मन्त्रालयले जनाएको छ।

विधेयकको अन्तरविषयवस्तुमा छलफल र संवाद गरी आएका सहमतिकालाई संसदीय प्रक्रियाबाट निचोडमा पुर्‍याउन सरकार तत्पर रहेको जनाइएको छ।

प्रकाशित मिति: Jul 15, 2018

प्रतिक्रिया दिनुहोस्