Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी : ‘छ महिनाभित्रै रेल’

धनुषा, ५ जेठ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले संघीय सरकारले तराई-मधेशको विकासका लागि विशेष प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ । मन्त्री महासेठले मधेश र प्रदेश नं २ को सरकारलाई संघीय सरकारले पूर्णरुपले सहयोग गर्ने तयारी गरेको बताउँदै भन्नुभयो, “तराई मधेशसँग प्रधानमन्त्री हुनुहुन्छ, उहाँले विशेष प्याकेज ल्याउन गइरहेको छ ।

जनकपुरमा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा प्रमुख अथितिको आसनबाट बोल्दै मन्त्री महासेठले मधेशमा संघीय सरकारको तर्फबाट जेठ १५ गते आउन लागेको बजेटमा विशेष कार्यक्रमको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम आउने जानकारीसमेत गराउनुभयो ।

उहाँले विगतका सरकारहरुले मधेश र जनकपुरको विकासको सन्दर्भमा पूर्वाग्रह राखेको आरोप लगाउँदै भन्नुभयो, “ओली सरकारले यो साबित गरेर देखाउँछ कि मधेशप्रति कुनै किसिमको पूर्वाग्रह राखेको छैन ।” उहाँले मधेश र खासगरी जनकपुर हरेक क्षेत्रमा अगाडि बढ्ने बताउनुभयो ।

संघीय सरकारले अन्य प्रदेश र शहरको तुलनामा जनकपुरलाई विशेष विकास योजना दिने तयारीमा रहेको बताउनुभयो । उहाँले मधेशका हरेक जिल्ला सदरमुकामलाई भौतिक पूर्वाधार मन्त्रालयले चार लेन र छ लेनको सडकले जोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मन्त्री महासेठले सन् २०१८ भित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढीमा अबको छ महिनाभित्रै निश्चित दूरीमा रेल कुदाउँछौँ, अहिले द्रुत गतिले काम भइरहेको छ, दुई वर्षभित्र त हामी रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौँ, यो सरकारको चाहना पनि हो ।’’ उहाँले जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म पु¥याउने, काठमाडौँबाट वीरगञ्ज सोझै जोड्ने–एउटा भारतसँगको सम्बन्ध यातायातमार्फत पनि हाम्रो मित्रता बढाउन वीरगञ्ज–काठमाडौँ जोड्ने सोच बनाएको र डिपिआर भएर काम नै शुरुवात भइसकेको जानकारी दिनुभयो ।

मन्त्री महासेठ भन्नुभयो, “यो पाँच वर्षभित्रमा यो सरकारले सम्पूर्ण देशलाई रेलमार्ग र सडकमार्गबाट प्रत्येक गाउँ/टोललाई जोड्ने प्रयास गर्नेछ ।” मन्त्री महासेठले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरसहितको भ्रमण सफल भएकामा सबैलाई धन्यवाद दिनुभयो । उहाँले गर्न चाहना र इच्छा शक्ति भएको खण्डमा जे पनि सम्भव रहेको कुरा मोदीको भ्रमणका बेला जनकपुरमा रातारात गरेको सडक, सरसफाइलगायतका तयारीले साबित गरेको भन्नुभयो ।

उहाँले लामो समयदेखि यातायात क्षेत्रमा लगाएको सिन्डिकेट हटाउन सरकार सफल भएको र यस कार्यमा पत्रकारहरुको अहम् भूमिका रहेको भन्दै पत्रकारहरुलाई धन्यवाद दिनुभयो । मन्त्री महासेठले अहिले देशका दुई ठूला कम्युनिष्ट दल मिलेकाले गर्दा अब देशमा विकासको लहर चल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी गठन भएकामा देशमा विकासको ठूलो सम्भावना बढेको छ ।”

मन्त्री महासेठ यस एकतामा पत्रकारहरुको ठूलो योगदान रहेको बताउँदै भन्नुभयो, “पत्रकारहरुको दबाबले गर्दा एकता सम्भव भएको हो ।” उहाँले नेपाल अबको पाँच वर्षभित्र उल्लेखनीय तबरले आर्थिक विकासमा फड्को मार्ने निश्चित रहेको बताउनुभयो ।

उहाँले पत्रकारहरुले समयसमयमा सरकारको कामको समीक्षा गर्नुपर्ने र सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ को कार्यसमितिलाई प्रमाणपत्र वितरणका साथै मिथिलाको पाग र गम्छा ओढाएर सम्मानसमेत गरिएको थियो । पत्रकार महासंघ प्रदेश नं २ मा दीपेन्द्र चौहानको नेतृत्वमा रहेको प्रेस युनियन, चौतारी र प्रेस सेन्टरको पूरा प्यानल नै विजयी भएको छ । (रासस)

प्रकाशित मिति: May 19, 2018

प्रतिक्रिया दिनुहोस्