Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

०४६ साल यता मुलुकका राष्ट्रिय उद्योगहरु निजीकरणको नाममा बेचिएकोछ : मातृका यादव

काठमाडौं, १६ बैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ०४६ सालदेखि यता मुलुकका राष्ट्रिय उद्योगहरु उदारीकरण र निजीकरणको नाममा बेचेर खाएको आरोप लगाएका छन् ।

आईतबार अग्निज्वाला मिडिया मासिक पत्रिका/अनलाईन पत्रिका र टिभीको ९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले राष्ट्रिय उद्योगहरु कमिशन खाएर बेच्ने काम भएको आरोप लगाएका हुन् । उनले भने,‘उद्योग चलाउन गाहा«े पर्छ, बेच्यो भने त कमिशन आउँछ, पहिले पहिले त कमिशन लिन आँफै पनि जानु पर्दैन थियो, श्रीमती, ज्वाँई, र नातेदारलाई पैसा बुझाउने गरिएको थियो, यही स्कुलिङले देश चलिरहेको थियो, त्यसैले सबै राष्ट्रिय उद्योगहरु निजीकरण भए।’

उक्त पत्रिकाका प्रकाशक तथा प्रधान–सम्पादक टंकप्रसाद देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले रुघ्न उद्योगहरु सञ्चालन गर्नेबारे आफूले विशेष पहलकदमी लिएको बताउँदै गोरखामा रहेको गोखरकाली टायर उद्योग पूनः कसरी सञ्चालन गर्न सकिन्छ भनेर रिपोर्ट लिनको लागि विज्ञहरु पठाउँदा उनीहरुले सञ्चालन गर्न सकिँदैन भनेर रिपोर्ट दिएको गुनासो पोखे ।

उनले थपे,‘म चाहीँ कसरी उद्योग सञ्चालन गर्न सकिन्छ भनेर विज्ञहरु पठाएँ, तर उनीहरुले सञ्चालन नै गर्न सकिँदैन भनेर रिपोर्ट पेश गरे, किनकी बेचेर खान सजिलो छ, अब हामी त्यो टिमलाई विशेष क्लास दिन्छौं।’

 

मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताले भ्रष्टाचार गर्नेलाई जेल हालेरै छोड्ने सार्वजनिक अभिव्यक्ति दिएकोले सरकारले मुलुकमा कुनै पनि प्रकारको सिण्डिकेट नहरने स्पष्ट पारे । उनले भने,‘सरकारले कुनै पनि किसिमको सिण्डिकेट अब बरदास्त गर्दैन्।’ यद्धपी उनले सरकारले अहिलेसम्म भन्ने मात्रै काम गरेको भनेर आफूहरुलाई आरोप लागेको बताए । उनले थपे,‘जादुको छडी त होईन, विस्तारै काम गर्छौं, परिणाम दिन्छौं।’

एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले चुनावमा जनतासँग स्थायी सरकार दिन्छौं, एकताबद्ध राष्ट्र बनाउँछौं, सुशासन दिन्छौं र आर्थिक समृद्धि दिन्छौं भनेर वाचा गरेको स्मरण गर्दै ती वाचाहरु आफूहरुले पूरा गर्ने मन्त्री यादवको विश्वास छ । उनले भने,‘आर्थिक विकास र समृद्धि हाँसिल गर्नको लागि पनि उत्पादन बढाउनुपर्छ।’

उत्पादन नहुँदा देशमा अहिले सस्तोमा बेच्ने र महँगोमा किन्ने काम भैरहेकोप्रति यादवले गुनासो पोखे । उनले भने,‘हामी परनिर्भरतामा छौं, जो सँग व्यापार गरिएको छ, ती सबै देशसँग नेपालले घाटा व्यहारेको छ, धेरै व्यापार गर्नेहरुसँग धेरै व्यापार घाटा छ, थोरै गर्नेहरुसँग थोरै घाटा छ, तर जो सँग ती सबैसँग घाटा नै छ।’ देशमा भएको श्रमशक्ति बेचिरहेको उनले सुनाए ।

मन्त्री यादवले थपे,‘उर्जा, श्रम र शक्ति विदेशमा बेचेर, ती देशहरुबाट महँगोमा सामानहरु किन्ने काम गरिरहेका छौं, कोरियाकै कुरा गर्नुहुन्छ भनेपनि हामी धेरै श्रम बेचिरहेका छौं, तर महँगोमा सामान किन्न बाध्य छौं।’

वर्तमान सरकार राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले भने,‘हामी राष्ट्रियता र सार्वभौमिकताप्रति सम्झौता गर्दैनौं, र गरेका पनि छैनौं।’

विचार तथा धारणा बनाउनको लागि मिडिया सशक्त माध्याम भएको बताउँदै मिडियाले सन्तुलित भएर समाचार दिनुपर्नेमा मन्त्री यादवको जोड थियो । उनले थपे,‘हेडलाईन दिन्छ एउटा भित्र कन्टेन्ट हुन्छ अर्को, यसरी भ्रम पार्ने काम नहोस्।’

उनले मिडियाले देश र जनतालाई सुसुचित तुल्याउन निरन्तर भूमिका निर्वाह गरेकोले आगामी दिनमापनि यस्तै खाले सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे । ‘विकासप्रति मिडिया सचेत छन्, तर कतिपय मिडियाका न्यूजमा आफ्नो भ्युज दिने गरिएको छ’ यादवले थपे,‘न्यूज भनेको त फ्याक्ट हो नि, यसमा भ्युज दिनु भनेको अपराध हो, यस्तो मिडियाप्रति भने प्रश्न उठ्दो रैछ।’

नेपालका विभिन्न कालखण्डका आन्दोलनहरुप्रति मिडियाको पूर्ण साथ र सहयोग रहँदै आएको उल्लेख गर्दै मन्त्री यादवले भने,‘कतिपय लेखक, सम्पादकहरु सहिद पनि भए, हाम्रो लडाईमापनि ज्ञानेन्द्रको जयजयकार गर्नेहरुपनि थिए, हाम्रोबारेमा जयजयकार गर्नेपनि थिए, त्यस्तै जनआन्दोलनको पक्षमा पनि मिडिया थिए, विपक्षमा पनि थिए।’

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्