Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ हजार भन्दा बढि जनसंख्या भएको गाउँपालिकाको प्रशासकीय प्रमुख उपसचिव हुने

काठमाडौं :२५ हजार भन्दा बढि जनसंख्या भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपसचिव हुने भएको छ । सरकारले पारित गरेको स्थानीय तहमा कर्मचारीको संगठन संरचना अनुसार अब २५ हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव (राजपत्र द्धितीय श्रेणी) को निजामती कर्मचारी रहने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कार्यपालिकातर्फ २५ जना कर्मचारी रहनेछन् भने प्रत्येक वडामा २ जना कर्मचारी रहनेछन् । सो तहका गाउँपालिकाको वडा कार्यालय प्रमुखमा पनि नायब सुब्बा वा खरिदार रहेनछन् ।

बुधवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको संगठन संरचनामा २५ हजार जनासम्मको जनसंख्या भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत (राजपत्र तृतीय श्रेणी) रहने व्यवस्था छ । तर, सोही तहको निजामती कर्मचारी महानगरपालिकाको वडा कार्यालय प्रमुख रहने व्यवस्था छ ।

सरकारले पारित गरेको स्थानीय तहमा कर्मचारीको संगठन संरचना अनुसार अब उँपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरपालिकाको कार्यालय प्रमुख एउटै तहका रहने भएका छन् ।

यस्तो गाउँपालिकामा एउटा एकाई र चार वटा शाखा रहने व्यवस्था गरेको छ । जसमा आन्तरिक लेखा परीक्षण इकाई तथा प्रशासन, योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा, अन्य सामाजिक तथा आर्थिक विकास शाखा र शिक्षा, युवा तथा खेलकुद शाखा छन् ।

सो तहको गाउँपालिकामा प्रतिगाउँपालिका कार्यपालिकातर्फ १८ जना कर्मचारी रहनेछन् भने प्रत्येक वडामा २ जना कर्मचारी रहनेछन् । त्यस्तो गाउँपालिकाको वडा प्रमुखमा नायव सुब्बारखरिदार रहनेछन् ।

उक्त तहको गाउँपालिकामा संगठन संरचनामा आन्तरिक लेखा परीक्षण एकाई सहित प्रशासन, योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा, स्वास्थ्य तथा सामाजिक विकास शाखा, शिक्षा, युवा तथा खेलकुद शाखा, आर्थिक विकास शाखा र आर्थिक प्रशासन शाखा रहनेछन् ।

५० हजारदेखि ७५ हजारसम्म जनसंख्या भएको नगरपालिकाको हकमा संगठन संरचना त्यसभन्दा तल्लो तहको नगरपालिका समान तोकिएको छ । यस्तो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव तहकै रहनेछन् । कार्यपालिकातर्फ कुल ३९ कर्मचारी रहने वडामा भने तीन कर्मचारी रहनेछन् ।

७५ हजारभन्दा बढी जनसंख्या भएको नगरपालिकाको हकमा सात शाखा र एक एकाई रहनेछन् । यस्तो नगरपालिकाको निजामती नेतृत्व पनि सहसचिवले नै गर्नेछन् । प्रति नगर कार्यपालिकामा ४३ जना रहने वडामा तीन कर्मचारी रहनेछन् । यस्तो वडाको कार्यालय प्रमुख नासु रहनेछन् ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकीय नेतृत्व पनि सहसचिवले पनि गर्नेछन् । यसको कार्यपालिकामा ८४ कर्मचारी र वडामा चार कर्मचारी रहने व्यवस्था गरिएको छ । यस्तो नगरपालिकामा सामान्य प्रशासन महाशाखा, शहरी विकास तथा पूर्वाधार महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, योजना, बजेट तथा सूचना प्रविधि महाशाखा, शिक्षा, युवा तथा खेलकुद महाशाखा, आर्थिक विकास महाशाखा र आर्थिक प्रशासन महाशाखा र आन्तरिक लेखा परिक्षण एकाई रहनेछन् ।

त्यस्तै, संघीय राजधानीबाहेकका महानगरपालिकाको प्रशासकीय नेतृत्व पनि सहसचिवले गर्नेछन् । यस्तो महानगरपालिकाको कार्यपालिकातर्फ एक सय ३१ र प्रतिवडा सात कर्मचारी रहनेछन् । यस्तो महानगरमा सामान्य प्रशासन महाशाखा, राजश्व व्यवस्थापन महाशाखा, शहरी पूर्वाधार विकास महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, योजना, अनुगमन तथा सूचना प्रविधि महाशाखा, आर्थिक प्रशासन महाशाखा, शैक्षिक प्रशासन महाशाखा, आर्थिक विकास महाशाखा, वातावरण तथा विपद् महाशाखा र आन्तरिक लेखा परिक्षण रहनेछन् ।

यस्तो महानगरको वडाको नेतृत्व भने शाखा अधिकृतले गर्नेछन् ।

संघीय राजधानी रहेको काठमाडौं महानगरको नेतृत्व भने सचिवले गर्ने व्यवस्था गरिएको छ । यो महानगरको कार्यपालिकामा एक सय ४१ र प्रतिवडामा सात जना कर्मचारी रहनेछन् ।

वडाको नेतृत्व पनि अधिकृतले गर्नेछन् । काठमाडौं महानगरमा सामान्य प्रशासन निर्देशनालय, पूर्वाधार तथा शहरी विकास निर्देशनालय र आर्थिक तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत ११ वटा महाशाखा रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्