Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धन्दा रुन्चे साहित्यको !

लेखक : सङ्गीत श्रोता

बजार हतारमा छ, श्यामलको कविताले कल्पेभन्दा सायद दश–बीसगुना बेसी हतारमा । यो देशको थिति फेर्न चलेका घरेलु आन्दोलनका गतिमतिलाई कवि श्यामल ‘हतारो कदम’ भन्थे । तर, त्यो जागरण–गतिलाई सुस्तमना र थलापनामा पारिदिने गरी वैश्विक बजार–रीतिका चार खुट्टा हाँफझाँफ कुदिरहेका छन्, बुर्कुसी पारामा । नेपाली समाजमा झ्याल–झ्यालबाटै सिङ सिउरेर टाउको घुसारेको बजार मझेरीमा पसि नै सकेको छ, यतिखेर । मझेरीमा हतारपतार ऊ किन गरिरहेको छ ? किनभने उसलाई यताको भण्डारको गोजीकरण गर्नुछ रआफै मालतालको भाउ तोक्नुछ । यही बजारको राइँदाइँमा हाम्रा लेखकहरू पनि आफ्नो अस्तित्व–रक्षार्थ कटिबद्ध छन्– कोही केही लेखेर, कोही कसैलाई लेखाएर, कोही शक्तिपीठ भजाएर, कोही ‘कटुवाल’ घोकाएर, कोही भद्दा–भावना उछालेर, कोही कसैलाई रूवाएर ।

तर, यहाँ बजार र लेखनीको आँसुधन्दा नै विषय सन्दर्भित छ । लेखनीमा घटना, दृश्य, परिवेशको भावुकता रचेर अनि शब्दशिल्प मिलाएर पाठक रूवाउनु लेखकको कलाशक्ति नै हो । घटना वा परिवेशहरूले मात्रै मान्छेलाई छुँदैन । त्यो आँसुमा अनुदित हुनुमा लेखकको चित्रण–विधि र कार्य–कारण सम्बन्धमा भाव–विकासको स्वाभाविकता चाहिन्छ नै ।कुरा यति मात्रै छैन । जुनसुकै बिउँ उम्रनका लागि त्यो कस्तो बिउँ हो भन्ने कुरा महत्वपूर्ण त हुन्छ, तर त्यो मात्रै महत्वपूर्ण हुँदैन । त्यो कस्तो माटोमा र कस्तो मौसममा रोपिएको छ भन्ने कुरा पनि उत्तिकै निर्णायक हुन्छ । बिना ब्याड कुन बिउँ पो उम्रन्छ र ?

चोक–चौतारामा बेलाबेला चर्चा हुन्छन्– ढिस्कानो लेखक रून्चे साहित्य लेख्छ । तिल्कानो उपन्यासकारको कामै पिन्चे पारामा मान्छे रूवाउनु हो । फलाना–फलाना लेखकलाई आँसु–बेचुवा भनिदिए हुन्छ । तर, कसैले बेच्दैमा आँसु–साहित्य बिक्री हुन्छ ? रून तयार परेर बसेका पाठकहरू नहुँदा हुन् त यहाँ कसको आँसु–आख्यान प्रकाशकले छाप्थ्यो ? रुन्चे–पिन्चे लेखन नेपाली समाजमा अहिले पनि फाटफुट बिक्री भइरहन्छ किनभने यहाँ मान्छे रूवाउन बाध्य पार्ने समाज यथावत छ । आँसु यदि बिउँ हो भने यहाँको समाज र सामाजिक सम्बन्धका जटिलताहरू बिउँका लागि मलिलो माटो र मौसम हुन् । पाठकहरूरूनुपर्ने परिस्थितिमा बाँचिरहेका छन् भने लेखनी–बिउँले गतिलो माटो पाइहाल्छ । अनि ऊ आफ्ना पाठकहरूमा पुग्न कनिकुथि बल उपयोग किन नगरोस् ?

आँसु यदि बिउँँ हो भने यहाँको समाज र सामाजिक सम्बन्धका जटिलताहरू बिउँका लागि मलिलो माटो र मौसम हुन् । पाठकहरू रुनुपर्ने परिस्थितिमा बाँचिरहेका छन् भने लेखनी–बिउँले गतिलो माटो पाइहाल्छ । अनि ऊ आफ्ना पाठकहरूमा पुग्न कनिकुथी बल उपयोग किन नगरोस् ? मान्छेले झेलिआएका दुःखहरूबाट मुक्ति खोज्ने लेखक हुँदो हो त ऊ सङ्कटमा पनि संघर्षका कथा लेख्दो हो । मान्छे आशावादी र निरन्तर जीवनवादी प्राणी हो भन्ने भेउले दृष्टिफुका उपन्यासकार हुँदो हो त ऊ कष्टकर जिन्दगीका यथार्थ उद्घाटन गर्ने हेतुले कला–काट्दो हो । तर, रोइबस्ने वास्तविकता बाँचिरहेका वा अन्तर्यमा आँसु छिपाएर दौडिरहेका दुःखियाजनका भावना उकासेर व्यापार गर्ने बनियाँ–मार्का लेखक छ भने ऊ आँसु–धन्दा चलाउँछ ।

जो समाजमा मान्छेलाई ‘बरा, बिचरा, कठै’ देख्छ, उसैले लगाइदिन्छ, आँसुग्रन्थी जाग्ने गरी साहित्यको सुई । जसरी बच्चालाई ‘अबोध’देख्नेहरू उपदेश दिन्छन्, महिलालाई ‘अबला’ देख्नेहरू सान्त्वना दिन्छन्, दलितलाई ‘दीनदुःखी’ देख्नेहरू आश्वासन दिन्छन्, त्यसरी नै पाठकलाई कमजोर र निराश देख्नेहरू संवेदना–दोहन गर्छन् । जिन्दगीका अनेकन जटिलतामा अँचेटमचेट संघर्ष गरिरहेको मान्छेलाई एक–भावनाभित्र मात्रै बाँधिहेर्ने प्रचलन हानिकारक र खतरनाक समेत छ । चाहे त्यो मान्छेलाई हरक्षण जुलुस लगाइरहेको कार्यकर्ता ठानेर युद्धोत्तेजना भड्काइरहने लेखक होस्, चाहे हरेक मान्छेलाई यौनकुण्ठित प्राणी देखेर पोर्न–साहित्य मात्रै बेचिरहेको उपन्यासकार होस्, चाहे मान्छेलाई असफल र दुःखी सम्झेर आँसु–धन्दा चलाइरहेको साहित्यकार होस्, त्यो सबै एक–भावना मात्रै भड्काइरहेन ‘इमोसनलन ब्लाकमेलिङ’ हो ।

हामी केही चासो र केही प्रश्नहरू आफ्नै टेबलमा राखेर मन्थनिन सक्छौँ । चोक–चौतारामा वा चियाथलोमा कसैले कसै–कसैलाई भनिसक्यो– ढिस्कानो इज रून्चे अथर ! तर सोचौँ– ती लेखक वा उपन्यासकार किन आँसु–बेचुवा भए ? यो देशमा अहिले साहित्यमा सबैभन्दा धेरै आँसु नै बेचिएको छ कि अरू केही ? बजारको यस्तो हतारपतारको तँछाडमछाडमा पनि मान्छे किन पिन्चे साहित्य खरिद गरेर आँसु पुछिरहेको छ ? हामी लेखक छौँ, त्यस्ता लेखक जो बजारका काखमा मसक्क परेर बसेका छौँ वा मुनाफाखोरका काँधमा सवार भइरहँदा दङ्ग छौँ । आजको हतारपतारको थिति यतिखेरको वैश्विक व्यवस्थाको परिणति नै हो । मान्छेहतारमा किन छ भने यति हतार गरेन भने उसले रजगज गरेको दुनियाँमा अर्काथरीले जुनसुकै बेला राज गर्न सक्छन् । उसले हतार गरेन भने उसलाई विस्थापित गर्ने उद्यममा कम्मर कसेकाहरूले उसको स्थान ओगट्न सक्छन् ।

किनभने यो तीव्र प्रतिस्पर्धामा उत्रेको युग हो । यहाँ परिवारभित्र पनि प्रतिस्पर्धा छ । समाजमा पनि प्रतिस्पर्धा छ । पार्टीहरूबीच पनि प्रतिस्पर्धा छ । व्यापारीहरूबीच त प्रतिस्पर्धा हुने नै भयो । अनि लेखक–उपन्यासकार यो देश–कालबारिहका प्राणी त होइनन् । उनीहरूपनि टिकिखान र अस्तित्व–रक्षार्थ सतहमुनि–मुनि होड गरिरहेका छन् । अनि यो हतारोमा मान्छेको ध्यान तान्ने कसरी ? छोटोभन्दा छोटो समयरेखामा धेरैभन्दा धेरै मान्छेको ध्यान–विचलित कसरी पार्ने ? त्यसको एउटै उपाय छ– मान्छेका गढतम भावनाहरूलाई उक्साउने ! मान्छेका दमित, संकुचित र अधुरा भावेच्छामा चलखेल गर्ने ! अर्थात् त्यो हो– यौन, हिंसा, आँसु आदिको व्यापार । यतिखेरको बजारको सबैभन्दा ‘हिटतम’ भनिने सिनेमा हेर्नुस्– ऊ कि यौन बेचिरहेको छ, कि हिंसा, कि कमेडी ।

यतिखेरका बजारको सबैभन्दा सफलतम भनिने राजनीतिज्ञहरूको विजय–कहानी हेर्नुस्– उनीहरू अभावका बीच आशा बेचिरहेका छन् । सबैभन्दा नाम चलेका लेखकहरू हेर्नुस्– उनीहरू पनि कि प्रेमगातामा यौन बेचिरहेका छन्, कि समाजकथाका नाममा रोइलो बाँडिरहेका छन् । केही लेखक प्रयोगशील भएको भ्रममा शब्द–खेलामा चुट्किलामय लेखनीमा रमाइरहेका छन् । पुँजीवादी रीतिथितिमा जसरी सिनेमाले भद्दा यौन, मारकाटपूर्ण हिंसा र अपराध मनोवृत्ति दर्शकमा लगिरहेकै छ, त्यसरी नै साहित्यमा पनि अपराध–हिंसा, यौन, रोइलो, चुट्कापारा प्रसार मुख्य प्रवृत्ति बन्दो छ । कम्तीमा आँसुसम्ममा अडिएका कोही लेखक छन् भने ती चाहिँ चर्को आलोचनाका योग्य होइनन्, बरूदयाका पात्र हुन् । तिनीहरू थ्रिलर स्टाइलका उपन्यास लेख्ने आँट पनि गर्दैनन्, सक्दैनन् । ती यौनका भद्दा व्याख्या गरेर ‘पोर्न साहित्य’को उत्पादक मजदूरमा पनि आफूलाई सामेल गर्न सकिरहेका छैनन् ।

गम्भीर ढंगले समाज, समय र इतिहासप्रति दायित्वशील भएर सार्थक साहित्य लेख्ने धैर्य र प्रतिबद्धता पनि यिनीहरूमा पटक्कै छैन । अनि यिनीहरू के गरून् त ? यिनीहरू समाजका एक कुनामा रूँदै बसेका मान्छेका आँसु बटुलेर बेच्ने कोसिस गरिरहेका छन् । चुट्कापारामा पुँजीवादी भ्रम जोगाइरहने सेलिब्रिटी लेखकहरू वा समाज–संरचनाको साँघुर्याइले निर्माण गरेको यौनकुण्ठामाथि टेकेर गलत सार फैलाइरहने बबुरा लेखकहरूभन्दा रोइलो बेचिरहनेहरू कम हानिकारक छन् । अहिले पनि ‘श्री स्वस्थानी कथा’ बढेर गहभरि हुने श्रोताहरू हाम्रो समाजमा अधिक संख्यामा छन् । अहिले पनि युधीर थापाको आख्यान–प्रभावित लेखक–पुस्ता सबैभन्दा प्रभावशाली छ । रून्चे साहित्य पढेर रूने र आफ्नो मनको पीडाभाव विरेचन गर्ने पाठक समाजमा छन् । र, तिनीहरूको भावनासँग एकाकार हुन हाम्रा केही साहित्यकारलाई साथ लिएर आजको बजारले आख्यानमा ‘आँसुधन्दा’ चलाइरहेको छ । जनतापोस्टबाट

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्