Logo
१५ बैशाख २०८१, शनिबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवारी बाँडफाँटमा एमालेसँग सहमति जुटेपछि मात्र माओवादीले सरकार छाड्ने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग उम्मेदवारी बाँडफाँटमा सहमति जुट्नासाथ आफ्ना नेताले सरकार छाड्ने बताएका छन् । पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा उनले भने, ‘वाम गठबन्धनबाट प्रधानमन्त्री आत्तिनुपर्ने थिएन तर हाम्रा मन्त्रीलाई बिनाविभागीय बनाइयो ।’ बिनाविभागीय भएर पनि सरकारमा बसिरहनुको अर्थ रहेको दाहालले दाबी गरे ।

एमालेसँगको गठबन्धनमा माओवादीले ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे । ‘यो हिम्मत कसै न कसैले गर्नैपथ्र्यो,’ दाहालले संविधानसभाको पहिलो निर्वाचनको दृष्टान्त दिँदै भने, ‘गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको जित अप्ठेरोमा छ भन्ने जान्दाजान्दै पनि संविधानसभा निर्वाचन गराउन हिम्मत नगरेको भए शान्ति प्रक्रिया यो अवस्थासम्म आइपुग्थेन ।

‘४५ जिल्लाको उम्मेदवारी टुंगो लागेर मनोनयन हुँदाहुँदै सरकार छाड्छौं,’ उनले भने, ‘लामो समयपछि अबको सरकार बहुमतको हुनेछ ।’ जनताले मत दिएर जुनसुकै गठबन्धनले बहुमतले जिते पनि ५ वर्ष काम गरेर देखाउने चुनौती रहेको उनले बताए ।

‘कांग्रेसको गठबन्धनले जितेर काम गर्न सके फेरि उसैलाई जनताले चुन्नेछन्, वाम गठबन्धनका लागि पनि यस्तै हो,’ दाहालले भने, ‘पटकपटक सरकार फेरिएर राजनीतिक अस्थिरता रहिरहे मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्दैन भनेरै वाम गठबन्धन बनाएका हौं ।’

वाम गठबन्धनको ऐतिहासिक निर्णय पनि त्यसभन्दा धेरै फरक छैन ।’ उम्मेदवारी टुंग्याउन गठबन्धन बैठकले करिब ९० प्रतिशत काम गरिसकेको र शनिबारसम्ममा पूरा भइसक्ने पनि उनले बताए ।

निर्वाचन बिथोलिए संसद् पुन:स्थापित हुन्छ भनी बिहीबार दिएको अभिव्यक्तिप्रति सञ्चारकर्मीको प्रश्नमा उनले त्यो फरक परिस्थितिमा बोलिएको भन्दै जवाफ दिन चाहेनन् । ‘त्यो फरक परिस्थितिमा बोलियो,’ उनले भने, ‘अब चुनाव हुने निश्चित भएपछि त्यसबारे भनिरहनु आवश्यक छैन ।’

यसअघि शनिबारै पोखरा २६ मा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो अधिवेशनको उद्घाटन गर्दै दाहालले वाम गठबन्धनले कांग्रेसलाई पनि फाइदा पुगेको बताए ।

लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको र निर्वाचनबारे कहींकतैबाट अन्योल वा भ्रम सिर्जना गर्न नहुनेमा दाहालले जोड दिए ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्