Logo
१५ बैशाख २०८१, शनिबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिर्तामोडमा जारी कर्फ्युबीच प्रहरीको गोलीबाट मृत्युबारे छानविन समिति

झापाको अर्जुनधाराका बालक हत्यापछि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार थप एक जनाको मृत्यु भएपछि सरकारले चार सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चिरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशन हरिहर पौडेल सदस्य छन् ।

गृहमन्त्रालयकाअनुसार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ सर्वसाधारणसहित नेपाल प्रहरीतर्फ २७ जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको बीएनसी र मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

असोज १४ गते हराएका अर्जुनधारा ११ का बालक ११ वर्षीय लक्ष्मण शिवाकोटी मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शुक्रबार वर्तामोडामा प्रदर्शन भएको थियो । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ५ का वर्ष ३० का नरेश थापाको मृत्यु भएको थियो ।

थापाको मृत्युपछि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । घटनापछि शुक्रबार दिउँसो १ः ३० बजेबाट लगाइएको कफ्र्यू अनिश्चित समयका लागि लगाइएको छ । गृहले शुक्रबार भएको घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

प्रदर्शनकारीहरुले दुई जनाको मृत्यु भएको बताइरहे पनि जिल्ला प्रहरी कार्यालयले स्थानीय अर्जुनधाराका नरेश थापाको मृत्युमात्र पुष्टि गरेको छ । अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको दसैंको टीकाको दिन भएको मृत्यु प्रकरणलाई लिएर गरिएको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएपछि शुक्रबारको घटना भएको हो।

झडपपछि विर्तामोड तनावग्रस्त छ। प्रदर्शन उग्र बन्दै गएपछि स्थानइ प्रशासनले दिउँसो साढे १ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू घोषणा गरेको थियो।

लक्ष्मण सिवाकोटी मृत्यु प्रकरण
असोज १४ गते शनिबारका दिन। विजयादशमीका दिन भएकाले अर्जुनधारा–११ स्थित तीनपैनीमा रहेको लक्ष्मणको घरमा टीका लगाउने सुरसार चलिरहेको थियो । बिहान ८ बजे उनी आफ्नो फुपुको छोरा १२ वर्षीय मनिष थापासँग घरबाट निस्किएका थिए । विदेशबाट बाबुले पठाइदिएको जुत्ता लिन भनेर मनिष विर्तामोड–५ स्थित सुधिर पोखरेलको घरमा गए। लक्ष्मण पनि मनिषको जुत्ता हेर्न भनेर उनीसँगै पुगेका थिए ।

बिहानै घरबाट निस्किएका लक्ष्मण टीकाको साइत भइसक्दा पनि घरमा आएनन्। साँझसम्म पनि नआइपुगेपछि खोजीकार्य सुरु भयो । जसको घरमा उनी गएका थिए, त्यहाँ ताल्चा लागेको थियो । पोखरेलको सपरिवार टीका लगाउन गोल्धाप पुगेको रहेछ। रातको ९ बजे लक्ष्मणका आफन्त फेरि पोखरेलको घरमा पुग्दा परिवार त भेटे तर लक्ष्मण दिउँसै  घरबाट निस्किएको खबर पाए ।

त्यसपछि शिवाकोटी परिवार अत्तालियो। रातभर आसपासका ठाउँमा खोजी भयो । लक्ष्मण कतै फेला परेनन् । भोलिपल्ट बिहान (असोज १५ गते) घरबाट ६ किलोमिटर टाढा बिर्तामोड–१ स्थित बैशावाडीको सानो खोल्चीमा डुबिरहेको अवस्थामा उनको शव फेला प¥यो ।

प्रहरीका अनुसार शव खाल्डोको पानीमा भासिएको अवस्थामा थियो । हात, टाउको र अण्डकोषमा चोट पनि देखिन्थ्यो । त्यसलाई आधार मान्दै परिवारले लक्ष्मणको डुबेर मृत्यू नभएर हत्या भएको दाबी गर्दै पोखरेल परिवारका ८ सदस्यविरुद्ध किटानी जाहेरी दियो । जसको आधारमा बिर्तामोड प्रहरीले तीन जनालाई पक्राउ प¥यो ।

पक्राउ पर्नेमा सन्तोष पोखरेल (३६), समिर पोखरेल (३४) र सुधिर पोखरेल (३२) हुन् । बालकलाई डुबिरहेको अवस्थामा भेटिएकाले हत्या भएको प्रमाणित नभइन्जेलसम्म थप आरोपितहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी ग¥यो । तर आफ्नो ढंगले अनुसन्धान अघि बढाइरहेको प्रहरीले बताउँदै आइरहेको थियो ।

यता इलाका प्रहरी कार्यलय विर्तामोडका डिएसपी राजकुमार सिलवालका अनुसार बालकको पोष्टमार्टम रिपोर्ट पनि ‘पेन्डिङ’ भनेर आयो। रिपोर्टमा मृत्युको कारण नखुलेपछि थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा स्याम्पल पठाइएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्