‘भुल भुलैया’को सिक्वेलमा अक्षयलाई रिप्लेस गर्दै कार्तिक आर्यन मुख्य भूमिकामा
लामो समयदेखि चर्चामा रहेको ब्लकबस्टर चलचित्र ‘भुल भुलैया’को सिक्वेल बन्ने भएको छ । यस चलचित्रमा मुख्य नायकमा को राख्ने हलचल मच्चेको थियो ।
यो चलचित्रका लागि नयाँ पुस्तादेखि पुराना पुस्ताका कलाकारहरुको नाम चल्दै आइरहेको थियो । अन्तत उक्त चलचित्रका लागि पछिल्लो समय निकै रुचाइएका र व्यस्त अभिनेता कार्तिक आर्यन पक्का भएका छन् ।
कार्तिकले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ जस्ता सफल चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । हालै उनले नयाँ चलचित्र ‘लभ आजकल २’को छायांकन पनि सकाएका छन् ।
अहिले ‘भुल भुलैया’ टिम स्क्रिप्टमा काम गरिरहेको छ । स्क्रिप्टलाई जतिसक्दो बलियो बनाउनको लागि मिहिनेत गरिरहेको निर्माता भुषण कुमारले भारतीय मिडियासँग बताएका छन् ।
कार्तिकसँगै चलचित्रको अन्य कलाकारहरु पनि पक्का भइसकेका छन् । तर, निर्माण युनिटले कलाकारहरुलाई सार्वजनिक भने गरेको छैन । बुझिएअनुसार यो चलचित्रको छायांकन यो वर्षको अन्त्यबाट सुरु हुनेछ ।