अज्ञात समूहद्वारा नगरप्रमुख चढ्ने गाडीमा आगजनी
अछाम : अछामको मङ्गलसैन नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गए राति गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
रातिको समयमा आगजनी भएकाले गाडी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ ।
मङ्गलैन बजारका स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी दिएका थिए । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले जनाए ।
सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको तर नगरपालिको गाडीलाई मात्र लक्षित गरेर उक्त आगजनी गरिएके छ ।
नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडीमा नगरपालिकाले करीब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो ।