Logo
१८ बैशाख २०८१, मंगलबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋण र अनुदान बन्द गरेका एडीबीको टोलीद्धारा गौतमबुद्ध विमानस्थलको निरीक्षण

रुपन्देही : सन्तोषजनक काम नभएको भन्दै ऋण र अनुदान बन्द गरेको एसियाली विकास बैंक (एडीबी० को टोलीले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निरीक्षण गरेको छ ।

विमानस्थल निर्माणको अहिलेसम्मको प्रगति विवरण बुझ्न एडीबीको टोलीले बुधवार निरिक्षण गरेको हो । एडिबीका नेपालका लागि निर्देशक मुख्तार खामुदखानोभले अवलोकन गरेपछि पुन मुल्यांकन गर्ने नगर्ने भन्ने निर्णय हुने विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

एडीबीले गत जनवरीदेखि यस आयोजनामा आफ्नो ऋण र अनुदान बन्द गरेको छ ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुनेगरी विमानस्थल निर्माणको काम सुरु भएको थियो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो ।

विमानस्थल निर्माणको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ । निर्माणको जिम्मा लिएको चिनिया ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले अहिले कामलाई द्रुत गतिमा अघि बढाएको पनि जनाएको छ ।

‘गएको भदौ यता काममा सुधार आएको छ, हामीले काम निरन्तर अघि बढाएका छौं’ आयोजना प्रमुख ओम शर्माले भने ।

अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम भइरहेको विमानस्थल आयोजनाले जनाएको छ ।

चिनिया व्यवस्थापक फेरेपछि काम लयमा फर्केको र असारभित्र परीक्षण उडान गराउने लक्ष्यसहित काम अघि बढेको आयोजना प्रमुख शर्माले बताए ।

कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थल आउदो असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

लागतमध्ये एडीबीको ५४ करोड अनुदान रहेको छ भने चार अर्ब २० करोड रुपैयाँ ऋण रहेको छ ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्