Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री बुढाथोकीको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका छन् । आज बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको उनको शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति मृत्यु भएको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजिक सञ्जाल फेसबुकमा लेख्दै हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठुलो रिक्तता अनुभूति हुने जनाएका छन् ।

बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए । पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए ।

उनी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति पनि भएका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: Feb 6, 2024

प्रतिक्रिया दिनुहोस्