“रामायण” मा रावणको भूमिका निभाउने अभिनेता त्रिवेदीको निधन
बहुचर्चित हिन्दि टेलि सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । उनको उमेर ८३ वर्ष थियो ।
सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ‘रामायण’ मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो ।
हिजो मङ्गलवार राति ११ बजे आफ्नै घरमा उनको निधन भएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।
‘रामायण’ मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक ‘विक्रम और बेताल’ मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए । यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो ।
त्यस समय ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।