Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक

आज संघिय संसद प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक  बस्दै छ ।

बुधबार अपराह्न ४ बजे बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।आजबाट शुरू हुने अधिवेशनको पहिलो बैठकमा ३२ बुँदे कार्यसूची तय भएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेस गर्ने छन् । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।यसै गरी नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेस हुने छ ।

यस्तै शपथ सम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

अपरान्ह ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको बुझिएको छ । माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनमा सहयोग हुनेगरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सरकारले यसअघि हतार हतार बजेट अधिवेशन अन्त्य गरेको थियो ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्