Logo
२० बैशाख २०८१, बिहीबार
(May 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा जारी बेल्ट एण्ड रोड शिखर सम्मेलन भारतद्वारा बहिस्कार

भारतले चीनमा आयोजना भइरहेको बेल्ट एण्ड रोड अन्र्तराष्ट्रिय सम्मेलन बहिस्कार गरेको छ । आइतबार बिहान शुरु बेल्ट एण्ड रोड सम्मेलनमा दिल्लीबाट कोही पनि राजनीतिक तथा सरकारी पदाधिकारी सहभागि छैनन् । महाशक्ति अमेरिका, रुस,बेलायत,जर्मनी लगायत विश्वका प्रभावशाली मुलुकले आफ्ना सरकारी प्रतिनिधि सम्मेलनमा पठाएपनि भारतले भने यस सम्मेलन बहिस्कार गरेको हो ।

दक्षिण एसियाबाट उक्त बेल्ट एन्ड रोड सम्मेलन बहिस्कार गर्ने मुलुक भारत र भुटान हुन् । भुटानसंग चीनको कुटनीतिक सम्बन्ध छैन । सम्मेलनमा बंगलादेश, पाकिस्तान, नेपाल तथा श्रीलंकाबाट उच्चस्तरिय प्रतिनिधिमण्डल सहभागि भइरहेका छन् । सम्मेलनमा बेइजिङ्स्थित भारतीयदूतावासका प्रतिनिधिलाई मात्र सहभागिताका लागि भारत सरकारले खटाएको छ । यससंगै एसियाका दुई उदीयमान अर्थतन्त्र भारत र चीनबीच एक बर्षयता जारी तनाव थप चुलिएको र तिक्तता बढेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

बेल्ट एन्ड रोड अवधारणाको प्रमुख अंग रहेको पाकिस्तान—चीन आर्थिक करिडोर निर्माणप्रति आफ्नो असहमति रहेको भारतले बताएको छ । पाकिस्तान नियन्त्रित गिल्गिट बाल्टिस्थान (कस्मिरको एक भाग) हुंदै उक्त आर्थिक करिडोर निर्माण गरिएको भन्दै भारतले आपत्ति जनाएको हो । भारतको सार्वभौमसत्ता तथा अखण्डता चीनले हनन गरेको भारतको दाबी छ ।

चीनले भने कस्मिर समस्या वार्ताबाट समाधान हुनुपर्ने बताउंदै भारतको सार्वभौमिकता र अखण्डताप्रति आफू सचेत रहेको जनाएको छ । चीनले उक्त सम्मेलनको उद्द्घाटनसहित ६ वटा सत्रमा सहभागि हुन भारतलाई निमन्त्रणा गरेको थियो । भारत र पाकिस्तानले जम्मु र कस्मिरलाई आफ्नो भू—भाग दाबी गर्दै आएका छन् ।

जसका कारण यी दुई दक्षिण एसियाली मुलुकबीच चारपटक सीमा युद्द भइसकेको छ । भारतीय बिदेश मन्त्रालयले शनिबार अबेर राती जारी गरेको वक्तव्यमा बेल्ट एन्ड रोड अवधारणा समावेसीमुलक नरहेको, भारतसंग बिनापरामर्श शुरु भएको लगायतका आरोप लगाइएको छ ।

प्रकाशित मिति: May 14, 2017

प्रतिक्रिया दिनुहोस्