Logo
२३ बैशाख २०८१, आईतबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणको अझै जोखिम बढ्दै : भारतबाट महाकाली तरेर नेपाल भित्रने क्रम रोकिएन

सुदूरपश्चिम प्रदेश स्थित नेपाल भारत सिमाको दार्चुला जिल्लाको ब्यास गाउँपालिका-४ डोकट नजिक महाकालीमा ढुंगाको साँघु तरेर भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढेको छ।

लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्ने नाका बन्द भएपछि रोकिएका नेपाली जिल्लाको उत्तरी भेगको भारतीय भूभाग हुँदै ब्यास क्षेत्रबाट नेपाल छिरिरहेका हुन्।

भारतले लिपुलेक जोड्ने सडक निर्माणका क्रममा फुटाएको चट्टानी ढुंगा थुप्रिएपछि महाकाली नदीमा साँघु बनेको छ।

उक्त साँघुबाट केही दिनदेखि भारतमा अलपत्र परेकाहरु निर्बाध रुपमा नेपाल भित्रिरहेका हुन्।

बस्तीबाट केही टाढा रहेको हुनाले स्थानीय र सुरक्षाकर्मीको निगरानी नभएको बेला उनीहरु आइरहेको ब्यास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताए।

दुई-तीन दिनदेखि भारतमा अलपत्र परेका नेपाली कामदार अवैध नाका प्रयोग गरी आएपछि शनिबारबाट प्रहरी र स्थानीयलाई निगरानीका लागि परिचालन गरिएको ओझाको भनाइ छ।

बिहीबार राति ब्यास-३ का १७ जना र वडा नं ४ का दुई जना भित्रिएका थिए। त्यसअघि भित्रिएका ब्यासका ६ जना र अन्य ठाउँका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

अन्य व्यक्ति पनि रातिको समयमा महाकाली तरेको हुन सक्ने सम्भावना रहेको भन्दै शनिबारदेखि सुन्सेरा प्रहरी चौकीका हवल्दारसहित दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मी र एक जना स्थानीयलाई परिचालन गरेर चौबीसै घन्टा निगरानी गरिएको प्रशासकीय अधिकृत ओझाले जानकारी दिए।

यसअघि भारतबाट नेपाल प्रवेश गरेका स्थानीय र बाहिरका मानिसलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको छ। अहिलेसम्म भारतका विभिन्न ठाउँबाट स्वदेश आएका २४ जना क्वारेन्टाइनमा छन्।

चार दिनअघि उक्त साँघु प्रयोग गरी बैतडी, बझाङलगायत जिल्लाका मानिस नेपाल छिरेपछि प्रहरीले दिनमा महाकाली किनारतिर सुरक्षा गस्ती पठाए पनि राति नेपाल प्रवेश गर्नेको अवस्थाबारे जानकारी छैन।

उक्त साँघुबाट करिब २० जना एकैदिन नेपाल प्रवेश गरेका थिए। नाकाबाट नेपाल प्रवेश गर्ने बढ्न थालेपछि संक्रमणको जोखिम बढाएको स्थानीय मदनसिंह कुँवरले बताए।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्