कोरोना भाइरसको नाममा ह्याकरले कम्प्युटर भाइरस फैलाउँदै, क्यास्पर्स्कीद्वारा सचेत सहन सबैलाई आग्रह
कोरोना भाइरसको अफवाह फैलाउदै बर्तमान समयमा कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेलामा ह्याकरले कम्प्युटर भाइरस फैलाइरहेको पाइएको छ ।
ह्याकरहरुले विश्व स्वास्थ्य सङ्गठनको लोगोसमेत दुरुपयोग गरी कोरोनाबारे जानकारी भन्दै कम्प्युटर भाइरस फैलाइरहेको क्यास्पर्स्कीले जनाएको छ ।
व्यक्तिका साथै यातायात, स्वास्थ्यसेवा, बीमा, आतिथ्य र उत्पादनसहितका उद्योगलाई तारो बनाउन साइबर अपराधीहरूले अङ्ग्रेजी, फ्रेन्च, इटालियन, जापानी र टर्किस भाषाको प्रयोग गरिरहेको बीबीसीले जानकारी दिएको छ ।
कोरोना भाइरसको खबरले प्राथमिकता पाउन थालेपछि ह्याकरले भाइरससम्बन्धी त्रासका खबर समेट्दै कम्प्युटर भाइरस फैलाउन थालेको साइबर सुरक्षासम्बन्धी सङ्गठनहरूले जनाएका छन् ।
अहिले कोरोना भाइरसको नाममा लाखौं नक्कली इमेलमार्फत विभिन्न आपराधिक कार्य भएको पाइएको बीबीसीले जनाएको छ ।कोरोना भाइरसको नाम दिइएको हानिकारक कम्प्युटर भाइरसलाई एन्टिभाइरसले ३ हजारभन्दा धेरै पटक भेटेको भन्दै खराब सफ्टवेयर नियन्त्रणको क्षेत्रमा स्थापित कम्पनी क्यास्पर्स्कीले सचेत रहन सबैलाई आग्रह गरेको छ ।
बीबीसीका अनुसार ह्याकरहरुले समाचारजस्तो लाग्ने फिशिङ अर्थात इन्टरनेटबाट मानिसलाई प्रलोभनमा पारी तिनको व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य गरेका छन् ।