Logo
२३ बैशाख २०८१, आईतबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर फैलियो कोरोनाको त्रास : अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनको आग्रह

कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका बासिन्दालाई अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरस आतंक नेपालमा पनि विस्तारै प्रबेश गर्न सक्ने सम्भावना उच्च रहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुञ्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताएका छन् ।

उनले अर्काे निर्णय नहुञ्जेल अब कुनै पनि सभा–समारोहका लागि अनुमति माग्न आएमा कसैलाई अनुमति नदिइने बताए । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताएका छन् ।

कोरोना भाइरसले विश्वका ७० बढी देशमा आतंक सिर्जना गरिसकेपछि नेपालमा पनि यो रोग भित्रिन नदिनका लागि सुरक्षाका उपायहरु अपनाउन थालिएको छ ।

‘बुधबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर तत्काललाई काठमाडौंमा कुनै पनि सभा–समारोह र ठूला जमघटका कार्यक्रम नगर्न–नगराउन तथा भिडभाडमा नजान काठमाडौंका नागरिकलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ प्रजिअ दाहालले भने ।

‘अब यहाँ (काठमाडौं) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभा–समारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने ?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन बाहिर ननिस्किने नै कोरोना संक्रमणबाट जोगिने सजिलो उपाय हुनसक्छ ।’

यसअन्तर्गत नजिककिंदो होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताएका छन् । कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ।

यही फागुन २६ गते फागु पर्व परेको छ । यहि दिन काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा होली मनाइन्छ भने तराई भेगमा यसको भोलिपल्ट होली पर्व मनाउने चलन छ ।

‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौंका बासिन्दालाई विशेष अनुरोध गर्छाैं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा परेको छ,’ दाहालले भने, ‘त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं ।’

यसबीच नेपालका धेरै जनालाई कोरोना संक्रमण आशंका गरिए पनि अहिलेसम्म कसैमा पनि यो संक्रमण पाइएको छैन । संक्रमण आशंका गरिएका व्यक्तिलाई टेकु अस्पताल भर्ना गरी उसको रगत तर्था याल त्यहीं रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्