Logo
१० असार २०८२, मंगलबार
(February 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रधानमन्त्री ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्‍यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशतिर फर्केर थुक्दा त्यही थुक आफ्नै मुखमा परेको पूर्वप्रधानमन्त्री समाजवादी पार्टीका अध्यक्ष एवं डा.बाबुराम भट्टराई बताएका छन्।

‘भनिन्छ नि आकाशतिर फर्केर थुक्दा आफैँलाई पर्छ। अस्ति ३ गते म माथि औँला ठड्याउनुभयो। मतिर फर्केर आकाशतिर थुक्नुभयो ८ गते त आफ्नै मुखमा पर्‍यो।’

उनले भने, ‘उहाँ अस्वस्थ हुनुहुन्छ। मेरो बोलीले उहाँलाई प्रतिकूलता पनि हुन सक्छ। त्यसैले योभन्दा बढी केही पनि भन्दिनँ।’

प्रधानमन्त्री ओली र गोकुल बाँस्कोटा अत्यन्तै मिलनसार भएकोले कमिशनको विषयमा आएको अडियोको बारेमा प्रधानमन्त्रीलाई थाहा भएर पनि चुप लागेर बसेको दाबी गरे।

पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत शनिबार पर्वतमा आइपुगेका अध्यक्ष भट्टराई प्रधानमन्त्री ओलीले फागुन ३ गते आफूमाथि औँला ठड्याउने दुस्साहस गरेको दाबी गर्दै अहिलेको सरकार भ्रष्टाचारको नमुना भएको बताए।

‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ’ डा भट्टराईले भने, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ।

दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो। थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने?’ प्रधानमन्त्रीले समृद्धि भइरहेको दाबी गरेर सरकारका गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उनले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको तर पछिल्ला केही दिनमा पापको घैँटो भने फुटेको बताए।

‘यो दुई वर्षमा विकास र निर्माणको कुनै आभास भएको थिएन। तर के गर्न सकेको रहेछ भन्ने त काण्डै-काण्डले देखाएको छ’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘एनसेल काण्ड हुँदै, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि। पापको घैँटो फुटेको त हामीले देखिरहेका छौँ।’

अर्को प्रसंगमा बोल्दै उनले देशको प्रगति चाहने हरेक व्यक्तिहरू समाजवादी पार्टीमा आउनु आवश्यक रहेको बताए। वर्तमान नेकपा र कांग्रेस दुवै दलमा रहेका कतिपय राम्रा मान्छे रहेको तर उनीहरूको बिचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता बिचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकोले बुद्धिजीवी आफ्नो पार्टीमा आउनु उपयुक्त हुने भट्टराईको भनाई छ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नै ओरालो बाटो लागेका कारण अबको वैकल्पिक शक्ति समाजवादी पार्टी मात्र भएको उनको दाबी छ। ‘बीउ राम्रो भएर रुख राम्रो हुने जस्तै समाजवादीमा आस्था राख्नेको संख्या थोरै भए पनि सडेको बीउ नपरेको कारण भविष्यको शक्ति यही नै हो’ उनले भने, ‘संघीयता, सुशासन, समृद्धि र समाजवादको एकीकृत रूप नै हाम्रो पार्टीको मर्म हो।

समानुपातिक र समावेशी लोकतन्त्रको पक्षमा हाम्रो पार्टी हो।’ कार्यक्रममा नेकपा र नेपाली कांग्रेसको राजनीति गर्दै आएका तथा आस्था राख्दै आएका दर्जनौँ व्यक्ति डा भट्टराईको हातबाट टीका लगाएर समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

प्रकाशित मिति: Feb 22, 2020

प्रतिक्रिया दिनुहोस्