इजरायल–इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण सङ्कलन
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको बताएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् । सरकारले इजरायल–इरानबिच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरू गरेको थियो ।
उनले इजरायल–इरानबिच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताइन् ।
सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाले बताइन् ।
उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि जानकारी दिइन् ।