शेखरको आक्रोश- व्यापारीले विद्युतको बक्यौता नतिर्दा हुने, जनताले किन तिर्ने ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत प्राधिकरणको बक्यौता नउठाएकोप्रति असन्तुष्टि जनाएका छन् ।
पार्टी विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै उर्जामन्त्री दीपक खड्कासामु कोइरालाले उद्योगी व्यापारीलाई पोस्नको लागि जनता नभएको बताए ।
उनले मन्त्री खड्कासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उनले भने, ‘कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने छ, अनि हामी विद्युत प्राधिकरण खस्कियो भन्छौँ, उठाउनुपर्ने पैसा चाहिँ नउठाउने ? अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने गलत हो। पहिला उठाउन पैसा, कल्पना गरौँ, जनताले जबसम्म बक्यौता उठाउँदैन तबसम्म प्राधिकरणलाई मासिक चार्ज दिँदैनौँ भने भने के हुन्छ। उद्योग व्यवसायी पाल्नको लागि जनता होइन ।’
उनले विद्युत प्राधिकरणको बक्यौता छिटोभन्दा छिटो नउठाए देशकै अवस्था नाजुक हुने बताए । उनले उद्योगीहरूले नतिर्ने भए हामीले किन तिर्ने ? भन्दै प्रश्न गरे ।