जम्मू–कश्मीरका १५ आतंकवादी क्षेत्रमा प्रहरीको छापा
नयाँ दिल्ली — भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध गरेको छ । जसमा डन न्यूज, समा टिभी र जिओ न्यूजसमेत छन् ।
यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटो र भ्रामक खबर फैलाइरहेकाले प्रतिबन्ध गर्नुपरेको सरकारले जनाएको छ ।
सरकारको यो कारबाही गृहमन्त्रालयको सिफारिसपछि गरिएको हो । केही बेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथबीच एक महत्त्वपूर्ण बैठक हुँदैछ । जम्मू–कश्मीर विधानसभामा पनि आज एक विशेष सत्र बोलाइएको छ ।
यसैबीच जम्मू–कश्मीर प्रहरीले १५ ठाउँमा छापा मारेको छ । सुत्रका अनुसार पाकिस्तानबाट आतंकवादी अभियान चलाइरहेका आतंकवादीहरुको क्षेत्रमा छापा मारिएको प्रहरीको दाबी छ ।
पाकिस्तानी फौजले पहलगाम आक्रमणपछि लगातार चौथो दिन पनि सीमा क्षेत्रमा फायरिङ गरेको छ । आइतबार मध्य रात र सोमबार बिहानै पाकिस्तानी सेनाले सीमा क्षेत्रमा फायरिङ गरेको दैनिक भास्करले उल्लेख गरेको छ । भारतीय सेनाले पनि त्यसको जवाफमा फायरिङ गरेको छ ।
२२ अप्रिलमा पहलगामको बेसरन घाटीमा भएको आतंकवादी आक्रमणमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जम्मू–कश्मीरमा अहिलेसम्म १० आतंकवादीको घरमा ब्लास्ट गरिएको छ । एनआईएले आक्रमणको जाँच गरिरहेको छ । सुत्रका अनुसार उक्त आक्रमणअघि आतंकवादीले पहिले रेकी गर्नका लागि ड्रोनको प्रयोग गरेका थिए ।
एजेन्सीहरुका अनुसार हतियार सप्लाईका लागि पनि ड्रोन प्रयोगको आशंका गरिएको छ । आक्रमणपछि आतंकवादी पुलवामा वा अनन्तनाग भागेको दाबी गरिएको छ ।