Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाममा एमाले र माओवादीबिच तालमेल हुने, बझाङमा एक्लाएक्लै भिड्ने तयारी

काठमाडौँ । वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता हुने अघिल्लो दिनसम्म सत्ता गठबन्धन दलहरूबिच साझा उम्मेदवारी दिने विषयमा कुनै औपचारिक सहमति भइसकेको छैन ।

फागुन २१ मा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी पार्टीबिच मिलेर नयाँ सत्ता समीकरण बनेको थियो ।  गठबन्धन सत्ता सहकार्यका लागि मात्र भएकाले उपनिर्वाचनमा चुनावी तालमेल नहुने नेताहरूले दाबी गरेका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धन दलहरूको साझा उम्मेदवार उठाउने विषयमा कुनै लिखित सहमति नभएको दाबी गरे । तर, अन्तिम समयसम्म तालमेलका लागि प्रयास भने हुने नेताहरूको भनाइ छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले इलाम २ मा माओवादीले आफूलाई सहयोग गर्ने जिकिर गरे । तर बझाङको हकमा आ–आफ्नै उम्मेदवार उठाइने सम्भावना भएको उनको भनाइ छ ।  ‘इलाम २ मा माओवादीले हामीलाई सहयोग गर्ने भएको छ । बझाङ प्रदेश सभा १ मा स्वस्थ प्रतिस्पर्धा गर्ने छौँ । एमालेले अन्य उम्मेदवारलाई सहयोग गर्दैन’, उनले भने, ‘गठबन्धन सत्ता सहकार्यका लागि मात्र बनाइएको हो ।’

यस्तै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूले कुनै दलसँग पनि चुनावी तालमेल नगर्ने बताए । एमालेले नै गठबन्धनसँग कुनै सल्लाह नगरी उम्मेदवारी घोषणा गरेकाले आफूहरूले पनि बाध्य भएर उम्मेदवारी दिएको उनको भनाइ छ ।

‘एमालेले गठबन्धन दलहरूबिच छलफल नगरी एकलौटी उम्मेदवारी घोषणा गरेपछि हामीले पनि बाध्य भएर उम्मेदवारी दिएको हो । हामी कसैसँग तालमेल गर्दैनौँ । उम्मेदवारी फिर्ता लिने कुरै भएन’, उनले भने ।

इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमलाई समर्थन गरेको जसपाले पनि गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । बझाङमा भने उसले आफ्नै उम्मेदवारी घोषणा गरेको छ । उम्मेदवारी दिने विषयमा एमालेले सत्ता सहयात्री दलहरूबिच एमालेले छलफल नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको बताए । यद्यपि समाजवादी मोर्चामा आवद्ध दलहरूबिच चुनावी तालमेलको सम्भावना बाँकी नै रहेको उनको भनाइ छ ।

‘एमालेले हामीसँग सल्लाह नगरी उम्मेदवारी दिएपछि इलाम २ मा स्वतन्त्रलाई समर्थन गर्ने निर्णय गरेका छौँ । बझाङमा हाम्रो आफ्नै उम्मेदवार छ’, श्रेष्ठले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले सत्ता सहकार्य र उपनिर्वाचन अलग विषय भएकाले चुनावी तालमेल नहुने बताए । एकल चुनावी प्रतिस्पर्धा गर्ने पार्टीको नीति नै भएकाले रास्वपाले कुनै दलसँग सहकार्य गर्न आवश्यक नभएको तर्क गरे ।

‘हामीले सत्ता सहकार्य गरेका हौँ । चुनावी तालमेलका लागि होइन । निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने पार्टीको नीति छैन । दलहरूबिच स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’, उनले भने ।

गठबन्धन पाँच दलका ९ उम्मेदवार

सत्ता गठबन्धनबाट इलाम २ मा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले धीरेन्द्र शर्मालाई उम्मेदवार बनाएको छ । यद्यपि माओवादीले एमालेलाई सहयोग गर्ने बताइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उठाएको छ । जसपाले स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ ।

यता बझाङ प्रदेश सभा १ मा गठबन्धनबाट एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीबाट दिलबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन् । जसपाले रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ । प्रदेशको विपक्षमा रहेको रास्वपाले उम्मेदवारी नदिने घोषणा गरेको छ ।

माओवादी केन्द्रले बझाङ प्रदेश सभा १ बाट उम्मेदवारी फिर्ता नलिने सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले बताए । उम्मेदवारी दिनका लागि पार्टीले टिकट पठाइसकेको उनले जानकारी दिए ।

‘उम्मेदवारी दिनका लागि पार्टीले टिकट पठाइसकेको छ । उम्मेदवारी फिर्ता हुँदैन । इलाममा माओवादीले एमालेका उम्मेदवारलाई सहयोग गरेपछि बझाङमा एमालेले हामीलाई सहयोग गर्नुपर्छ । उम्मेदवारी नदिने विषयमा केन्द्रबाट कुनै निर्देशन आएको छैन’, उनले भने ।

यस्तै उम्मेदवारी दिनका लागि जनकराज बुढा बिहीबार बझाङ पुगिसकेका छन् । इलाम २ का सांसद सुवासचन्द्र नेम्बाङको भदौ २६ गते हृदयाघातबाट निधन भएको थियो । प्रदेशसभा १ बाट निर्वाचित कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको  सवारी दुर्घटनामा परी असार ५ मा निधन भएको थियो ।

यस्तो छ चुनावी कार्यतालिका

रिक्त दुई  स्थानको उपनिर्वाचनका लागि निर्वाचन आयोगले शनिबार बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ । सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

उक्त उजुरीमाथि जाँचबुझ गरी सोही दिन बेलुकी ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यस्तै, उम्मेदवारको नाम फिर्ता लिनका लागि चैत्र २७ गते बिहान ९ बजेदेखि १ बजेसम्मको समय छुट्याइएको छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्