Logo
२२ बैशाख २०८१, शनिबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङ उपनिर्वाचनमा पाँच जना उम्मेदवार मैदानमा

काठमाडौँ । बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवार टुङ्ग्याएका छन् । बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसले बझाङ प्रदेश सभा १ मा पृथ्वीबहादुर सिंहकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस बझाङ कार्य समिति सदस्य रहेका सिंहले २०५५ सालदेखि नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को राजनीति थालेका थिए । नेविसंघपछि उनले तरुण दलमा राजनीति थाले । २०७२ मा नेपाल तरूणदल बझाङ— १ को क्षेत्रीय सभापति भएका सिंह कांग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका— ५ को वडाध्यक्षमा अभिषेक पराजित भएका थिए ।

वडाध्यक्षमा तेस्रो मत ल्याएका अभिषेकलाई कांग्रेसले स्वर्गीय पृथ्वीबहादुरको विरासत कायम राख्न चुनावी मैदानमा पठाएको छ । यता सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि बझाङ १ मा बेग्ला बेग्लै उम्मेदवार खडा गरेका छन् ।

एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए । भण्डारी अघिल्लो कार्यकालमा समेत एमाले बझाङको अध्यक्ष थिए। भण्डारी कानून व्यवसायी समेत हुन्।

माओवादी केन्द्रबाट जनक बुढाले टिकट प्राप्त गरेका छन् । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य थिए । यस्तै एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

यस्तै जनता समाजवादी पार्टीले बझाङ प्रदेशसभा १ मा  पार्टीका सङ्घीय परिषद् सदस्य रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्