Logo
१६ बैशाख २०८१, आईतबार
(March 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाका नेतामाथि हातपात प्रकरणले बैठक प्रभावित

राप्रपाको एक समूहले पार्टीका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको थियो ।

पार्टीको कार्यसम्पादन समिति बैठक चलिरहेकै बेला खाना खाने समयमा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका हुन् । नेता दीपकबहादुर सिंहले श्रेष्ठलाई आक्रमण गर्नेहरू फरार रहेको बताए । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठक लम्बिने भएपछि साढे ११ बजेतिर लन्च ब्रेक भएको थियो । नेताहरू खाना खान बाहिर निस्कने क्रममा एक्कासि  श्रेष्ठमाथि आक्रमण भएको थियो ।

उनीमाथि आक्रमण भएपछि राप्रपाका शीर्ष नेताहरुले छुट्ट्याएका थिए भने लगत्तै उनीहरु फरार रहेका छन् । श्रेष्ठमाथि भएको आक्रमणको घटनापछि सीसीटीभी भुटेज हेर्ने काम भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अहिले बैठक रोकेर यही विषयमा छलफल भइरहेको बताइएको छ ।

स्रोतका अनुसार कार्यसम्पादन समितिको बैठकमा छलफलका क्रममा नेता विक्रम पाण्डेमाथि विभिन्न प्रश्न उठेको भन्दै आलोचना भएको थियो । सोही क्रममा श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारमा संलग्न रहेको भन्दै पार्टी बचाउमा लाग्नुपरेको बताएका थिए । त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको बताइएको छ ।

राप्रपाको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको डकुमेन्टमाथि छलफल गरेर जारी राजनीतिक परिस्थितिबारे उपयुक्त निर्णय लिने तयारी छ । यस्तै पार्टीले गर्ने भनिएको आन्दोलनबारे पनि आवश्यक निर्णय गर्ने तयारी छ ।

प्रकाशित मिति: Mar 10, 2024

प्रतिक्रिया दिनुहोस्