Logo
१६ बैशाख २०८१, आईतबार
(March 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ ।

फागुन २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने सहमति गरेको थियो । सचिव दीनानाथ शर्माले उम्मेदवार छनोटको विषयमा निर्णय लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएको जानकारी दिए ।

उम्मेदवार ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा कुनै टुङ्गो नलागेको शर्माको भनाइ छ । यद्यपि ६ वर्षबाट उम्मेदवार बनाउने पार्टीभित्र धेरैको सुझाव आएको उनले जानकारी दिए । ‘राष्ट्रिय सभा अध्यक्ष ६ वर्षेबाट बनाउने कि ४ वर्षेबाट बनाउने भन्नेमा निष्कर्षमा पुगेका छैनौँ । त्यसका लागि अध्यक्षज्यूले साँझ पदाधिकारी बैठक बोलाउनु भएको छ’, उनले भने ।

वर्तमान उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल रहेकी छन् । उम्मेदवार छनोटका लागि अर्यालले राजीनामा दिनुपर्ने भएकाले समस्या देखिएको छ । राजीनामा दिने वा अध्यक्षको उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीबाट कुनै जानकारी नआएको अर्यालले बताइन् ।

‘पार्टीबाट अध्यक्षको उम्मेदवार बनाउने वा राजीनामा दिने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन । पार्टीको निर्णय हेरेर मैलो आफ्नो धारणा बनाउँछु । अहिले नै केही भन्ने स्थिति छैन’,  उनले भनिन् ।

गठबन्धनको सहमति अनुसार उपाध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरा गरी २० गते बिदाइ भएपछि रिक्त पदका लागि २९ गते निर्वाचन गर्ने तयारीमा संसद सचिवालय रहेको छ । उम्मेदवार छनोटका लागि सोमबार उम्मेदवार मनोनयन दर्ता हुने सम्भावना छ ।

उम्मेदवार ६ वर्षेबाट बनाउन प्रचण्डमाथि दबाब

अध्यक्ष माओवादीको भागमा परेपछि ६ वर्षे कार्यकाल भएकाबाट उम्मेदवार बनाउन प्रचण्डमाथि दबाब परेको छ । स्रोतका अनुसार प्रचण्डले आफ्ना भाइ समेत रहेका नारायणप्रसाद दाहाललाई उम्मेदवार बनाउन चाहेका छन् । त्यसका लागि नारायणले तीव्र लबिङ गरिरहेका छन् ।

‘राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहालजीको बलियो सम्भावना रहेको छ । अध्यक्षको चाहना पनि उहाँलाई बनाउने छ । नारायणजीको पदावधि ४ वर्षे भएकाले ६ वर्षेबाट बनाउनु पर्नेमा पार्टीमा बलियो मत रहेको छ । उम्मेदवार छान्ने अधिकार अध्यक्षलाई नै दिएका हुनाले उहाँले जसलाई बनाउनुहुन्छ, उही हुन्छ । ६ वर्षबाट भएमा झक्कु सुवेदीको सम्भावना बलियो रहेको छ’, स्रोतको दाबी छ ।

यदि चार वर्षे कार्यकालबाट उम्मेदवार बनाउने भए उर्मिलालाई नै अध्यक्षको उम्मेदवार बनाउँदा राम्रो सन्देश जाने मत पनि प्रकट भएको छ । पुराना, अनुभवी र महिला भएकाले राजीनामा दिन लगाएर अध्यक्षको उम्मेदवार बनाएर जाँदा उपयुक्त हुने मत पनि बलियो छ ।

२०७८ सालमा अर्याल मधेस प्रदेशबाट महिला कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । नारायण राष्ट्रपतिबाट सदस्यमा मनोनीत भएका हुन् । यी दुवै जनाको कार्यकाल आगामी २०८४ मा सकिँदै छ ।  २०७८ को ब्याजमा उर्मिला, नारायणसहित, जगतबहादुर पार्की, नरबहादुर विष्ट, भुवनबहादुर सुनार, सुरेश आले मगर रहेका छन् ।

माघ ११ गते भएको निर्वाचनमा माओवादीबाट ६ वर्षका लागि झक्कुसहित श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णुबहादुर विक र रेणु चन्द निर्वाचित भएकी छिन् ।

यस्तै २०७६ मा निर्वाचन जितेका सबैभन्दा हाइ प्रोफाइलका नारायणकाजी श्रेष्ठ रहेका छन् । उनी अहिले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री छन् । श्रेष्ठबाहेक त्यतिबेला निर्वाचित हुनेमा गंगा बेल्वासे, जगप्रसाद शर्मा, गोपी अछामी, राधेश्याम पासवान, माया प्रसाद शर्मा र तारामान स्वार रहेका छन् । उनीहरूको कार्यकाल २०८२ मा सकिने भएकाले  उम्मेदवार बन्ने सम्भावना नभएको नेताहरू बताउँछन् ।

५९ सिटमध्ये माओवादी १८ सिटसहित पहिलो दल छ । यस्तै कांग्रेसका १६, एकीकृत समाजवादीका ८, जसपाको ३, लोसपाका १ र जनमोर्चाका १ सदस्य छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट १ जना मनोनीत गर्न बाँकी छ ।

प्रकाशित मिति: Mar 10, 2024

प्रतिक्रिया दिनुहोस्