Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बेचेपछि हस्तान्तरण नजान्दा जरिबानामा फस्दै लगानीकर्ता

सेयर बेच्ने, तर हस्तान्तरण गर्न नजान्दा लगानीकर्ताहरू जरिबानामा पर्दै आएका छन् । यतिसम्म कि, केहीले त सेयर बेच्दा आएको नाफाभन्दा धेरै रकम जरिबाना तिर्नुपरेको छ ।

यसको ताजा उदाहारण हो- लगानीकर्ताले ६ महिनामै २ करोड ७३ लाख ६२ हजार ७ सय २४ रुपैयाँ जरिबाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङका अनुसार गत साउनदेखि पुस मसान्तसम्म उक्त परिमाण बराबर जरिबाना रकम लगानीकर्ताले बुझाएका हुन् ।

यस्तो जरिबानालाई ‘क्लोजआउट पेनाल्टी’ भन्ने गरिन्छ । पुसमा मात्रै लगानीकर्ताले ९३ लाख ४७ हजार रुपैयाँ क्लोजआउट पेनाल्टी तिरेको सीडीएसको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले कुल ४ करोड १७ हजार रुपैयाँ क्लोजआउट पेनाल्टी तिरेका थिए । चालु आवको वृद्धिदर हेर्दा यस्तो पेनाल्टी रकम गत वर्षभन्दा बढ्ने देखिन्छ ।

लगानीकर्ता अहिले घरमै बसेर ‘टीएमएस’ (ट्रेड म्यानेजमेन्ट सिस्टम) बाट सेयर किनबेच गर्छन् । यो सिस्टमबाट सेयर बिक्री गरिसकेपछि भोलिपल्टसम्म सेयर हस्तान्तरण गर्नुपर्छ ।

सेयर बेच्नेले अनलाइन प्रणालीबाटै हस्तान्तरण गरेपछि मात्रै कारोबार राफसाफ हुन्छ । सेयर हस्तान्तरण गरेपछि बेच्नेको डिम्याट खाताबाट सेयर घट्छ भने किन्नेले आफ्नो डिम्याट खातामै सेयर पाउँछ ।

सेयर बेच्ने, तर हस्तान्तरण नगर्नेले क्लोजआउट वापत जति रकमको सेयर बेचेका हुन्, सोही रकमको २० प्रतिशत जरिबाना तिर्नुपर्छ ।

जरिबानाको २५ प्रतिशत सरकारलाई करवापत जान्छ भने बाँकी पीडित पक्षले पाउने हो । यदि १ लाख रुपैयाँको सेयर बिक्री गरेर उक्त सेयर हस्तान्तरण भएन भने सेयर बेच्नेले २० हजार रुपैयाँ जरिबाना तिर्नुपर्छ ।

त्यसको २५ प्रतिशत अर्थात् ५ हजार रुपैयाँ सरकारी करवापत जान्छ भने बाँकी १५ हजार पीडित (किनेको सेयर नपाएको) पक्षले पाउँछ । सरकारले आकस्मिक लाभका रूपमा २५ प्रतिशत कर असुल्ने गरेको छ ।

क्लोजआउट पेनाल्टीबाट बच्न लगानीकर्ता नै पहिले सचेत हुनुपर्ने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्य बताउँछन् ।

‘सेयर बजारमा लागेपछि लगानीकर्ता नै यस विषयमा जानकार हुनुपर्छ, सेयर बेच्ने प्रक्रिया, बेचेपछि पूरा गर्नुपर्ने प्रक्रिया थाहा छैन भन्न मिल्दैन,’ उनले भने, ‘ब्रोकर कम्पनलिे पनि खाता खोल्न आउने सबैलाई प्रक्रियाबारे जानकारी दिनुपर्छ ।’

हाल सेयर किन्नेले अटोमेटिक रूपमा खातामा सेयर पाउँछ, तर बेच्नेले भने हस्तान्तरण गर्नुपर्ने बाध्यता छ । सेयरको औसत लागत मूल्य (डब्लूएसीसी) तथा होल्ड गरेको समय निकालेर पुँजीगत लाभकर निर्धारणका लागि सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

ऐन, कानुन तथा सेयर गणनासम्बन्धी संरचनागत जटिलताका कारण सेयर बिक्रीपछि अटोमेटिक हस्तान्तरण प्रक्रिया गर्न नसकिने आचार्यले बताए ।

सेयर बेचेर हस्तान्तरण नगर्दा खरिद गर्नेले पाउँदैन । खरिद गर्नेले सेयर नपाएपछि ब्रोकर कार्यालयमा गई क्षतिपूर्तिस्वरूप यस्तो रकमको दाबी गर्न सक्छ । ब्रोकर कम्पनीले सेयर हस्तान्तरण नगर्ने पक्षबाट जरिवाना लिई सेयर खरिद गरेर नपाउने पक्षलाई क्षतिपूर्तिस्वरूप यो रकम उपलब्ध गराउने हो ।

क्लोजआउट जरिबाना पर्नेमा नयाँ र पुराना दुवै किसिमका लगानीकर्ता रहेको सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरी बताउँछन् । ‘नयाँ लगानीकर्तालाई सेयर बेचेपछि अनलाइन प्रणाली मेरो सेयरबाट ट्रान्सफर गर्नुपर्छ भन्ने नै थाहा नहुने र कसरी ट्रान्सफर गर्ने भन्ने ज्ञान नहुँदा जरिबानामा पर्ने गरेको पाइन्छ,’ गिरीले भने,।

‘खासगरी, परेको आईपीओ बेच्नेले ट्रान्सफर नगर्दा जरिबानामा पर्ने गरेका छन् । सेयर बेचेपछि अटोमेटिक ट्रान्सफर हुन्छ भन्ने सोच्ने गरेका छन् । ’

सेयर बिक्री गरेपछि ब्रोकर कम्पनीले लगानीकर्ताको मोबाइलमा सेयर बिक्री भएको म्यासेज आउँछ । डब्लूएसीसी गरी ईडीआईएस गर्नू भनी म्यासेज पठाइने गरेको गिरीले बताए ।

त्यसपछि भोलि पल्टसम्म पनि ट्रान्सफर नभए ब्रोकर कम्पनीले इमेल तथा फोन गरी आग्रह गर्छन् । तर, कतिपयको फोन नलाग्ने अवस्था, फारममा गलत फोन नम्बर राख्ने जस्ता समस्या रहेको उनले बताए । नयाँ मात्रै नभई पुराना लगानीकर्ता पनि जरिबानामा पर्ने गरेका छन् ।

‘खासगरी बुक क्लोजका बेला ९३ देखि ७ दिनसम्मको अवधि राखेको हुन्छ , ईडीआईएस जेनेरेट हुँदैन, त्यस्तो बेला ईडीआईएस भएन भनेर लगानीकर्ताले मतलब गर्दैनन्,’ गिरीले भने, ‘तर, बुक क्लोज सकिएपछि ईडीआईएस एक्टिभ हुन्छ ।

त्यतिबेला नै लगानीकर्ताले ट्रान्सफर गर्नुपर्छ, त्यतिबेला पनि ट्रान्सफर नगर्दा क्लोजआउट पेनाल्टीमा परिन्छ ।’ त्यस्तै नियमित कारोबार गर्नेले आफ्नो कारोबार डाटा ख्याल नगर्दा जरिबानामा पर्ने गरेको उनले बताए ।

समयमै सेयर हस्तान्तरण गरे २० प्रतिशत जरिबाना तिर्नु पर्दैन । सेयर बिक्री भइसकेपछि मोबाइलमा म्यासेज आउने र सोही म्यासेज आइसकेपछि मात्रै मेरोसेयरबाट हस्तान्तरण गर्न सकिन्छ ।

कहिलेकाहीँ मेरोसेयर अनलाइन प्रणाालीमा पनि समस्या आउने गरेको छ । प्राविधिक समस्या देखियो भने सेयर ट्रान्सफर गर्नुपर्ने समयमा पनि केही सहजता दिइने गरेको छ ।

कसरी गर्ने सेयर हस्तान्तरण ?

डब्लूएसीसी (वेटेड एभरेज कस्ट अफ क्यापिटल) मा आफूसँग भएको कुनै कम्पनीको सेयरको औसत लागत मूल्य तय हुन्छ । सेयर बिक्री भइसकेपछि डब्लूएसीसी निर्धारण गर्नु बिक्रेताको पहिलो काम हो ।

डब्लूएसीसी गरेपछि ब्रोकर कमिसनसहित सेयर किन्दा आफूलाई परेको प्रतिकित्ता औसत लागत निस्किन्छ ।

डब्लूएसीसी भइसकेपछि सेयर होल्ड भएको दिन निर्धारण हुन्छ । १ वर्ष ९३ सय ६५ दिन० भन्दा धेरै अवधिसम्म सेयर होल्ड गरेकाले ५ प्रतिशत मात्रै पूँजीगत लाभकर तिर्नुपर्छ भने १ वर्षभन्दा कम अवधि होल्ड गर्नेले ७।५ प्रतिशत तिर्नुपर्छ ।

त्यही कारण सेयर होल्ड भएका दिन सिस्टमले नै अटोमेटिक देखाउँछ । त्यसपछि ईडीआईएस (इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप) मार्फत सेयर ट्रान्सफर हुन्छ ।

पहिले ‘डब्लूएसीसी’ गणना गर्नुहोस् :

डब्लूएसीसी गणना गर्न सबैभन्दा पहिले सेयर बिक्रीकर्ताले आफ्नो डिम्याट खाताको मेरोसेयर लगइन गरेर ‘माइ पर्चेज सोर्स’ मा गई आफूले बिक्री गरेको सेयर छनोट गर्नुपर्ने हुन्छ ।

सेयर छनोट गरेपछि उक्त सेयर कुन मितिमा कुन विधिबाट आफ्नो डिम्याट खातामा पाएको हो, त्यसअनुसारको एउटा सूचीमा क्रमबद्ध भएर देखिन्छ ।

बायाँतर्फ उक्त सेयर छनोट गर्ने टिक बक्स दिइएको हुन्छ । प्रत्येक टिक बक्समा गएर टिक लगाउनुपर्ने हुन्छ । यसरी टिक लगाएपछि उक्त कम्पनीको खरिद मूल्य अंकित हुन्छ । यदि त्यहाँ अंकित गरेको मूल्यमा कुनै फेरबदल गर्नुपर्ने भए आफ्नो खरिद मूल्यलाई फेरबदल गर्न सकिने छ ।

यसरी फेरबदल गरेपछि उक्त खरिद मूल्य फेरबदल गर्नुको कारण के हो भनेर दायाँतर्फको रिमाक्र्स राख्ने ठाउँमा कारण खुलाउनुपर्ने हुन्छ । यस्तो फेरबदल विशेष गरेर मर्जर तथा प्राप्ति, ‘बीओ टु बीओ’ गर्दा वा घरायसी नामसारी वा मृत्यु नामसारी गरेर ल्याइएको भए वा बोनस वा हकप्रदवापत थप सेयर प्राप्त गरेको भएा गर्न सकिने छ ।

अन्यथा, यस्तो मूल्यलाई परिवर्तन गर्नु गैरकानुनी हुनेछ ।

यसरी आफूले खरिद गरेको औसत मूल्य स्वघोषणा गरिसकेपछि प्रोसिड बटनमा क्लिक गर्नुपर्ने छ । यसपछि उक्त प्रक्रियालाई ‘डिक्लेयर बटन’ मा क्लिक गरेर ‘कन्फर्म अपडेट’ बटनमा क्लिक गर्नुपर्ने छ । त्यसपछि आफूले बिक्री गरेको सेयरको मूल्य घोषणा गर्ने कार्य सम्पन्न हुनेछ ।

दोस्रो होल्डिङ अवधि तय गर्नुहोस् :

होल्डिङ अवधि घोषणा गर्न मेरोसेयर लगइन गरी पुनः माइपर्चेज सोर्सभित्रै रहेको माइहोल्डिङ ट्याबमा क्लिक गर्नुपर्ने हुन्छ ।

माइहोल्डिङ कम्पनीको सूची पर्चेज सोर्स घोषणा भएपछि तथा बिक्री गरेर ईडीआईएस प्राप्त भएपछि मात्रै देखापर्ने छ । माइहोल्डिङमा कम्पनीको सूची देखिएपछि कम्पनी छनोट गर्नुपर्छ ।

कम्पनी छनोट गरेपछि विभिन्न मितिमा विभिन्न तरिकाले डिम्याट खातामा प्राप्त सेयर विवरण र डिम्याट खातामा सेयर होल्ड गरिएको दिन संख्या देखिने छ ।

त्यसपछि क्रमिक रूपमा सूचीमा रहेको सेयर छनोट गर्दै जानुपर्ने हुन्छ वा एकैपटक अल सेलेक्ट गर्न सकिन्छ ।

यसरी छनोट गरेपछि अर्को कोलममा सेयर होल्ड भएको दिन संख्या देखिन्छ । होल्ड भएको दिन संख्यामा कुनै फेरबदल गर्नुपर्ने भए दिन संख्या फेरबदल गरेर दायाँतर्फ रहेको बक्समा रिमाक्र्स राख्नुपर्ने हुन्छ ।

यसरी यो प्रक्रिया सकिएपछि पुनः प्रोसिड बटनमा क्लिक गरेर अर्को स्टेपमा डिक्लेरेसन बटनमा क्लिक गरी होल्डिङको दिन संख्या घोषणा गर्न सकिन्छ ।

अब ईडीआईएस गर्नुहोस् 

यति प्रक्रिया सकिएपछि डब्लूएसीसी प्रक्रिया र होल्डिङ अवधि स्वघोषणा गर्ने कार्य समाप्त हुनेछ र ‘माई ईडीआईएस’ मेनुमा जान सकिन्छ ।

माइ ईडीआईएस बटनमा क्लिक गरेपछि ट्रान्सफर सेयर भन्ने ट्याब देखिने छ ।

त्यहाँ ईडीआईएस गर्नुपर्ने सूची देखिन्छ । त्यसमा क्लिक गरेपछि बिक्री बिलअनुसारको बिक्री भएको सेयरको सूची देखिन्छ । त्यो सूचीमा एकेक गरेर वा सबैलाई एकैपटक सेलेक्ट अलमा क्लिक गरेर प्रोसिड बटनमा क्लिक गर्नुपर्ने छ ।

यसपछि डिक्लेरेसनमा क्लिक गरी सबमिट बटन क्लिक गरेपछि ईडीआईएस सम्पन्न हुनेछ ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्