Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री केदार कार्कीका यी हुन् सय दिने उपलब्धिहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १ सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कार्कीले पत्रकार सम्मेलन गरी सय दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको उपलब्धिमा राप्रपा सांसद् अम्बरबहादुर विष्टलाई सर्वसम्मतरूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व गरेको उल्लेख छ ।

प्रदेशसभाको विशुद्ध क्षेत्राधिकारमा पर्ने सभामुख चयनलाई मुख्यमन्त्रीले सभामुख निर्वाचित गराएको बताएका हुन् । सोमबार कार्कीले सार्वजनिक गरेको सय दिने उपलब्धिको एउटा बुँदामा लेखिएको छ, ‘प्रदेशसभा खारेजीको माग गर्दै आएको राप्रपाका प्रदेश सांसद् अम्बरबहादुर विष्टलाई सर्वसम्मतरूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व प्रदान गरेको ।’

समिति गठनदेखि सम्झौतासम्म
पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, १ सय शøयाको जलन अस्पताल स्थापनाका लागि सम्झौता, प्रादेशिकसँगै चारवटा निजी अस्पतालमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारलाई उनले १ सय दिने उपलब्धिको सूचीमा राखेका छन् ।

प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीनवटा विद्युतीय चार्जिङ स्टेसन निर्माण, रोजगार प्रवर्धनका लागि वेबसाइट सञ्चालनलाई मुख्यमन्त्री कार्कीले आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

तेस्रोपटक नाम फेरेर उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ्चालनलाई सरकारले सबभन्दा ठूलो उपलब्धि बताएको छ ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका वडानम्बर ११ पकलीमा एक सय शøयाको जलन अस्पताल निर्माणका लागि जनस्वास्थ्य सरोकार ट्रष्टसँग सम्झौता गरिएको, प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका साथै चारवटा निजी अस्पतालबाट १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको जानकारी पनि सरकारले दिएको छ ।

ध्यानाकर्षण पत्र पनि उपलब्धि
त्यसैगरी सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको हेटौंडा भेलाले संविधान कार्यान्वयनका लागि समन्वय र सङ्घर्ष गर्ने निर्णय गरी प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्रीबाट १५ दिनभित्र प्रहरी समायोजन गर्ने घोषणा भएर प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।

संविधानको पूर्ण कार्यान्वयनका लागि बनाउनु पर्ने कानूनको सङ्घीय सरकारले सूची तयार गरी प्राथमिकता क्रम निर्धारण गरेको, प्रदेशको नामकरण भएदेखि आन्दोलनरत पहिचान पक्षधरको समस्या समाधानका लागि वार्ता समिति गठन गरेको बुँदालाई पनि सरकारले उपलब्धि भनेको छ ।

अनलाइन सेवा पनि उपलब्धि
त्यस्तै कोशी प्रदेशभरि सुरूवात गरिएको ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियानलाई पनि सरकारले उपलब्धि भनेको छ । यस अवधिमा कोशी प्रदेशमा उद्योग, व्यापारको दर्ता र नवीकरण सेवा अनलाइनबाट सुरू गरेको, मोरङको लेटाङ-बुधबारे २९.६० किलोमिटर रणनीतिक महŒवको सडक शिलान्यास गरी निर्माण काम सुरू भएको पनि मुख्यमन्त्रीले जनाएका छन् ।

भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड रूपैयाँ र राहत सामग्री हस्तान्तरण गरेको विषयलाई पनि सरकारले उपलब्धि भनेको छ । त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा मोरङको विराटनगर, सुनसरीको इटहरी र झापाको सुरुङ्गा बजारमा ३ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन गरेको, रोजगार प्रवर्धनका लागि वेब पोर्टल सञ्चालन गरेको सरकारले जनाएको छ ।

‘अब करोडमाथिका योजना’
प्रदेश सांसद्हरुलाई सांसद्को नै हैसियत प्रदान गर्न र प्रदेशको गरिमा बढाउन स्थानीय तहको अधिकार सुरक्षित गर्दै २५ लाखभन्दा बढीको मात्रै योजना प्रतिस्थापन विधेयकमार्फत् ल्याएको जनाउँदै मुख्यमन्त्रीले भनेका छन्, ‘जसको असर बागमती, लुम्बिनी, गण्डकी, कर्णाली प्रदेशमा पर्नुका साथै सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षबाट करोडभन्दा माथिको मात्रै योजना ल्याउने तयारीमा जुटेको छ ।’

प्रकाशित मिति: Jan 23, 2024

प्रतिक्रिया दिनुहोस्