Logo
२२ बैशाख २०८१, शनिबार
(January 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर विवादले तनाव

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको विषयमा राजनीतिक दलका भातृ सङ्गठनका युवाहरू विरोधमा उत्रिएपछि उपमहानगरपालिका क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।

मङ्गलबार नेपाली काङ्ग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादीलगायत दलका युवाहरू नाराबाजीसहित नगर कार्यालय पुगेका थिए ।

उपमहानगरपालिकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर पुनः राख्नुपर्ने उनीहरूको माग थियो ।नगर प्रमुख राईले २०८० पुस १२ गते राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको तस्बिर कार्यकक्षबाट हटाएका थिए ।

तस्बिर पुनः नगर प्रमुख राईको कार्यकक्षमा राख्नु पर्ने मागसहित युवाहरूले नाराबाजी गरेका थिए । उनीहरूले संविधान सबैले मान्नु पर्ने लगायतका नारा लगाउँदै धरान-३ स्थित सिंहदेवी चोकदेखि उपमहानगरपालिकासम्म प्रदर्शन गरेका थिए ।

उनीहरू नगर प्रमुखको कार्यकक्षमा गएर आफै राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको तस्बिर राख्ने सूचना बाहिरिएपछि उपमहानगरपालिकाको प्रवेशद्वारदेखि नै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कडा सुरक्षाका बीच प्रहरीले दलका प्रतिनिधिलाई मात्र नगर प्रमुख राईको कार्यकक्षमा प्रवेश गराएको थियो । पुनः तस्बिर राख्ने विषयमा नगर प्रमुख राईसँग उनीहरूको छलफल भए पनि निष्कर्षविहीन बनेको थियो ।

दलहरूले बोलाउँदा पनि प्रधामन्त्री नआएमा फेरि तस्बिर हटाउँदिन भनेर हस्ताक्षर गर्नुपर्ने युवाहरूको प्रस्ताव पनि नगर प्रमुख राईले अस्वीकार गरे ।

उक्त प्रस्तावमा नगर प्रमुख राईले पछि नै कुरा गर्ने जवाफ दिए । युवाहरूले प्रधानमन्त्री बोलाउन राजनीतिक दलका नेतासँग समन्वय गर्नुपर्ने सुझाव दिए पनि नगर प्रमुख राईले कसैसँग हात जोडेर नहिँड्ने र दलहरू आफै जानुपर्ने जवाफ दिएका थिए ।

वार्ता नमिलेपछि युवाहरू तीनदिने अल्टिमेटम दिएर निस्किएका छन् । ३ दिनभित्र तस्बिर नराखेमा हुने सम्पूर्ण घटनाको जिम्मेवारी नगर प्रमुख राईले लिनुपर्ने भन्दै युवाहरू बाहिरिए ।

विना निष्कर्ष युवाहरू बाहिरिएपछि नगर प्रमुख राईले धराने जनतालाई अपमान गर्नेलाई सम्मान नगर्ने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘धराने जनतालाई अपमान गर्नेलाई म सम्मान गर्छु र ? कदापि गर्दिनँ’ भनेर स्टाटस लेखेका छन् ।

वार्तामा नेकपा (एमाले)का तर्फबाट दिवस राई र ब्रमज्ञ भट्टराई, काङ्ग्रेसका हिमाल श्रेष्ठ र विनोद आले मगर, माओवादी केन्द्रबाट दीपक घिसिङ, एकीकृत समाजवादीका रिकेस विश्वकर्मा छलफलमा बसेका थिए ।

किन हटाइयो तस्बिर ?
प्रधानमन्त्री दाहाल धरान उत्सवको उद्घाटन कार्यक्रममा नआउने भएपछि नगर प्रमुख राईले राष्ट्रपति पौडेलसहित दाहालको तस्बिर हटाएका थिए ।

धरान नगर प्रमुख राई काठमाडौँ गएका समयमा प्रधानमन्त्री दाहाललाई धरान उत्सवको उद्घाटन समारोहमा निमन्त्रण गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री दाहालको समय मिल्ने÷नमिल्ने निश्चित गरेर जानकारी गराउने बताएका थियो ।

प्रधानमन्त्री दाहालको सचिवालयले उपस्थित हुन नसक्ने जानकारी गराएपश्चात् नगर प्रमुख राईले पुस ११ गते फेसबुकमार्फत् राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालको फोटो हटाउने जानकारी दिए ।

नगर प्रमुख राईले ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ।

जय देश’ भनेर फेसबुक पेजमा लेखेका थिए । पुस १२ गते राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराती राजा यलम्बरको तस्बिर कार्यकक्षमा राखे ।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी विरोध गरे । तस्बिर हटाएको विषयले नै पुस १३ गतेको कार्यपालिका बैठक पनि अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: Jan 3, 2024

प्रतिक्रिया दिनुहोस्