Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्दा हारेको रिसमा मिटरब्याजीले अदालतमै पीडित कुटेपछि रातभर धर्ना, आरोपी हिरासतमा

मिटरब्याजीले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि पीडितहरु रातभर धर्ना बसेका छन् ।

विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा पीडितद्वय रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको भन्दै पीडितहरु रातभर धर्ना बसेका हुन् ।

निरौलालाई कारबाहीको माग गर्दै दिएको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि रातभर धर्ना बसेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

बिहीबार बिहान ७ बजे प्रहरीले मिटरब्याजी निरौला विरुद्ध जाहेरी लिएपछि धर्ना स्थगित गरेको उनले बताए । धर्नामा पासवान पनि बसेका थिए ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए ।

निरौलालाई बुधबार अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसपी लिम्बुले बताए ।

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक पासवानका अनुसार अदालतमै पीडितमाथि कुटपिट हुँदा प्रहरीले मिटरब्याजीलाई जोगाएर गाडीमा जिल्ला प्रहरी ल्याएका थिए ।

तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् । उल्टै लाठीचार्ज गर्दै धपाउने भनेर प्रहरीले धम्काएपछि रातभरि धर्ना बसेको उनको भनाइ छ ।

एसपी लिम्बुले भने पीडितलाई कुटपिट गर्ने निरौलालाई नियन्त्रणमा लिएर जाहेरी दर्ता गर्न आफूहरु तयार रहेकै अवस्थामा पीडितहरु विनाऔचित्य रातभर धर्ना बसेको बताए । ‘कुटपिट गर्नेलाई हिजै नियन्त्रणमा लिइसकेका थियौं ।

हिजो अबेला भएको कारण भोलि जाहेरी लिएर आउनुस् हामी दर्ता गर्छौं भन्दा मान्नुभएन । राति जाहेरी पनि लिएर अउनु भएको थिएन । रातभरि यतिकै धर्ना बस्नुभयो । अहिले अफिस खुलेपछि १० बजे जाहेरी दर्ता गरेका हौं । अब अदालत लगेर निरौलाको म्याद थप गराउँछौंं,’ एसपी लिम्बुले भने ।

पक्राउ परेका निरौला विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ३२ वटा मिटरब्याज विरुद्ध उजुरी परेको छ । मिटरब्याजकै कसुरमा उनी केही समय पहिले ३५ दिन थुनामा बसेर छुटेका थिए ।

छुटेपछि पीडितहरुलाई धम्काउने, अभद्र गालीगलौज गर्ने जस्ता क्रियाकलाप गरिरहेको संयोजक पासवान बताउँछन् ।

प्रकाशित मिति: Dec 28, 2023

प्रतिक्रिया दिनुहोस्