Logo
२४ बैशाख २०८१, सोमबार
(December 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीबाट कांग्रेसले पठायो ६३ जना उम्मेदवारका नाम, सिटौला र कोइराला पहिलो नम्बरमा

संघीय र प्रदेश सरकारको सत्तामा रहेको नेपाली कांग्रेसको कोशी प्रदेश समितिले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट पार्टी नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालालाई पहिलो प्राथमिकतामा राखेर ६३ जनाको नाम सिफारिस गरेको छ ।

कोशी प्रदेशका १४ मध्ये ९ जिल्लाबाट ६३ जनाको मात्रै नाम सिफारिस भएर आएको भन्दै प्रदेश समितिले सिटौला र कोइरालालाई पहिलो प्राथमिकतामा राखेर केन्द्रीय समितिमा नाम पठाएको हो ।

कांग्रेस प्रदेश कार्यसमितिले मर्यादा र पार्टीमा रहेको भूमिकाको आधार भन्दै उनीहरुको नाम सिफारिस गरेको जनाएको छ । आउँदो माघ ११ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोकिएको छ ।

फागुन २० गते राष्ट्रिय सभाको १९ सिट खाली हुँदैछ । जसमध्ये कोशी प्रदेशबाट अन्य समूह र महिला गरी २ सिट खाली हुने जनाइएको छ ।

अन्य समूहबाट सदस्य निर्वाचित भई राष्ट्रिय सभाको संसदीय दलको नेतासमेत रहेका रमेशजंग रायमाझीको ६ बर्षे कार्यकाल सकिंदैछ । कांग्रेस प्रदेश कार्यसमितिले सोही ठाउँमा सिटौलालाई अघि सार्ने योजनासहित नाम सिफारिस गरेको हो ।

अन्यतर्फ सिटौलासहित ३८ जनाको नाम सिफारिस गरिएको छ । जिल्लाहरुबाट प्रदेश समितिमा नाम पठाउन तोकिएको समय सीमाभित्र ९ वटा जिल्लाले मात्रै नाम सिफारिस गरेको प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार खोटाङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामबाट सिफारिस आएको छैन ।

नाम सिफारिसका लागि सोमबार कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाको अध्यक्षतामा बसेको बैठकले अन्यतर्फ सिटौला र महिलातर्फ कोइरालाको नाम पार्टीभित्रको भूमिका र मर्यादालाई ध्यानमा राखेर प्राथमिकतामा राखेर सिफारिस गरेको उनले बताए ।

‘नौ वटा जिल्लाहरुबाट नामहरु प्राप्त भयो । आएका नामहरुलाई पार्टीमा निर्वाह गरेको भूमिका, पार्टीको जिम्मेवारी र मर्यादा क्रमसंख्या मिलाएर सिफारिस गरेका छौं,’ महामन्त्री राईले भने, ‘पहिलो नम्बरमा पार्टीका नेता कृष्णप्रसाद सिटौला हुनुहुन्छ, महिलातर्फ नेतृ सुजाता कोइराला हुनुहुन्छ । बैठकले सबैको नाम क्रम मिलाएर सिफारिस गरेको छ ।’

पार्टी केन्द्रीय समितिले पुस १० गतेभित्र प्रदेशबाट नामहरु सिफारिस गरिसक्न गरेको निर्देशनअनुसार प्रदेश समितिले नाम पठाएको उनले जानकारी दिए ।

संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

कांग्रेस प्रदेश समितिले सिटौलाको नाममा लेखेको ‘नोट’ मा नेपालको शान्ति प्रक्रियामा सरकारी वार्ता टोलीको संयोजक भएर १० वर्षे माओवादी सशस्त्र विद्रोहलाई शान्ति वार्तामार्फत समाधानमा उल्लेखनीय योगदान पुर्‍याएको, संविधान मस्यौदा समितिको सभापतिको जिम्मेवारीको भूमिका निर्वाह गरेको, पार्टीको नीति, विचार, कार्यक्रम, रणनीति निर्माण गर्न र अन्य पार्टी निकायहरुसँग वार्ता र छलफलबाट समन्वयात्मक भूमिका निर्वाह गरेको उल्लेख छ ।

त्यसैगरी सिटौला पार्टीलाई प्रभावकारी ढंगमा स्थापित गराउने सफल व्यक्तित्व भएकाले राष्ट्रिय सभा सदस्य निर्वाचन-२०८० मा उम्मेदवार उठाउन उपयुक्त देखिने सिफारिसमा उल्लेख गरिएको छ ।

प्रदेश समितिले सिटौलापछि पूर्व केन्द्रीय सदस्य महेश आचार्य, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, उमेशजंग रायमाझी, आङगेलु शेर्पा, तारामान गुरुङ, गुरुराज घिमिरे, पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत लगायतको नाम सिफारिस गरेको छ ।

महिलातर्फ एक नम्बरमा सिफारिस भएकी कोइराला गत निर्वाचनमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् । प्रदेश समितिले कोइरालाबाहेक केन्द्रीय सदस्य डा. डिला संग्रौला, रुकमणि कोइराला, प्रदेश सदस्य सविता राई, गोमा केसी, बिना पौडेल, इन्दिरा कार्की, मिता आचार्य, शिशिरा राई र सितारा राईलगायत २५ जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसमा संस्थापन इतर समूहका नेताहरुले भने एक तहको निर्वाचनमा पराजित भइसकेका व्यक्तिहरुलाई नै पहिलो प्राथमिकतामा राखेर सिफारिस गरिएको प्रति असन्तुष्टि पोखेका छन् । इतर समूहले अन्यतर्फ डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बनाउन सभापति देउवालाई दबाब दिने जनाएको छ ।

कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइराला संघीय सरकारमा यसअघि मन्त्री भइसकेकाहरु हुन् ।

त्यसैगरी पूर्व संघीय सांसद रहिसकेकी डा. डिला संग्रौला र नेविसंघका पूर्व सभापति एवं प्रदेश समितिको सभापतिमा पराजित भएका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे पनि राष्ट्रिय सभाका लागि सिफारिस भएका छन् ।

उक्त बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा राष्ट्रिय सभाबाट बिदा हुन लागेका प्रदेश समिति उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको जनाइएको छ । त्यसैगरी आगामी कोशी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ ।

सम्मेलनको मिति तय नभए पनि माघ अन्तिमसम्ममा गर्ने तयारी रहेको कांग्रेस कोशी प्रदेश समिति सूचना तथा सञ्चार समितिका संयोजक बाबुराम कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: Dec 27, 2023

प्रतिक्रिया दिनुहोस्