Logo
१५ बैशाख २०८१, शनिबार
(October 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआरएनए युवा उपाध्यक्षमा रेग्मीद्वारा कतारबाट उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिबेशनका लागि कतारबाट युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।

यूरोप भ्रमणमा रहेका रेग्मीले कर्मथलोमा उम्मेदवारी घोषणा कार्यक्रम हुँदा प्रत्यक्ष सहभागी हुन नपाए पनि जुममार्फत उम्मेदवारीको घोषणा गर्दै साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

कतारबाट आरके शर्माले अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दा मध्यपुर्वका एनआरएनए अगुवा तथा अधिकांश एनसीसीको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा रेग्मीले उम्मेदवारी घोषणा गरेका सबैलाई सफलताको शुभकामना दिदै आफुले पनि आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको सार्वजनिक गरेका हुन ।

विगत २ दशकदेखि कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका युवा व्यवसायी रेग्मी एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल व्यक्तिका रुपमा चिनिन्छन । एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।

‘विशेष गरेर मध्यपूर्व वा श्रमिकको मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो लिडरशिप गर्न सक्ने क्षमताका व्यक्तित्व पनि छन् भन्ने देखाउनुपर्ने अवस्था आएको छ,’ रेग्मीले भने ।

रेग्मीले यसअघि एनआरएनए आइसीसी मध्यपूर्वका युवा संयोजक, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा उपाध्यक्ष र विभिन्न टास्क फोर्सका संयोजकको जिम्मेवारी निभाई सकेका छन ।

उनले एनआरएनएलाई एक सुढृढ, सफल र सक्षम संस्थाको रुपमा विकास गर्ने दृढ संकल्प बोकेको जनाएका छन । जसको लागि उनले केही एजेण्डाहरु अघि सारेका छन् ।

एनआरएनएमा सबैको अपनत्व बोध गराई युवा पुस्ताको मुद्दा स्थापित गराउने, एनआरएनएमा पद्दति र पारदर्शिता बढाउने, एनआरएनएमा दोस्रो पुस्ताका नेपालीलाई आकर्षित गर्ने, एनआरएनएका सीप, स्रोत र दक्षतालाई नेपालमै प्रयोग गर्ने वातावरण बनाउने र नेपालमा पर्यटन प्रवद्र्धनसँगै सुरक्षित लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्ने लगायत उनले अगाडी सारेका अजेन्डा हुन ।

उम्मेदवारी घोषणासँगै उनले सामूहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता जनाउँदै आएका छन् ।

उनले भने,  ‘नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासीय नेपाली संघको अभियानमार्फत सामुहिक लगानी गरेर छिटो भन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ । त्यो नै मेरो मुख्य एजेन्डा हो ।’

दोश्रो पुस्तालाई एनआरएनसँग जोड्ने ग्लोवल एनआरएन सिंगिङ आइडलका परिकल्पनाकार समेत हुन् ।

प्रकाशित मिति: Oct 4, 2023

प्रतिक्रिया दिनुहोस्