Logo
१५ बैशाख २०८१, शनिबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राधिका अधिकारीको ‘माइती देशको घाउ’ गीत सार्वजनिक

नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् । उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् । २०७२ सालमा उनको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उनको उपस्थिति पातलो देखियो । तर, लेखनमा भने उनी निरन्तर थिइन्।

उनै राधिकाको नयाँ तीज गीत ‘माइती देशको घाउ’ बजारमा आएको छ । यो गीतलाई सांगीतिक क्षेत्रमा उनको दोस्रो इनिङका रुपमा लिन सकिन्छ । नेपाली गीत लेखनमा पुरुष गीतकारको वर्चस्व रहेका बेला सांगीतिक क्षेत्रमा आएर आफूलाई उभ्याउन सफल राधिका पछिल्लो समय गीत लेखनमा कम गीत÷संगीतका स्रष्टाका बारेमा धेरै लेख्दै आएकी छिन् ।

राधिका ओखलढुंगामा जन्मिइन्, हुर्कंदै गएपछि बाबुआमासँगै बसाईं सरेर मकवानपुरको हेटौँडा आइन् । उनलाई आफू जन्मिएको र हुर्किएको ओखलढुंगाको सम्झना हरक्षण आउँथ्यो । ‘त्यो समयमा ओखलढुंगा सम्झिएर नरोएको क्षण थिएन । त्यो मेरो जन्मभूमि थियो । अहिले सम्झँदा त्यो रुवाई र ओखलढुंगाको प्रेम मेरो कवि चेत रोएको रहेछ,’ राधिका भन्छिन् ।

आर्थिक रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएकी राधिका घरकी जेठी छोरी थिइन् । बाल्यकालको धेरै समय घर, खेतीपातीको काममा बिताइन् । यति हुँदा हुँदै पनि उनमा लेखनको रुची ताजै थियो । ओखलढुंगा र हेटौँडाका भीर, पहरा र फाँट उनलाई ‘सुन्दर कविता’ जस्ता लाग्थे । उनी वनको हरियालीमा घण्टौंसम्म एक्लै हराउँथिइन् ।

‘स्कुले जीवनबाटै गीत कविता लेख्न थालेँ । कविता प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छु । त्यो समय रेडियोको जमाना थियो । म रेडियोका सबै कार्यक्रम नबिराइ सुन्थेँ । रेडियोमा गीत–कविता पठाउने लेखन आदत जस्तै बनेको थियो,’  राधिका सम्झिन्छिन् ।

त्यो समयमा देशभर साहित्यिक पत्रिका प्रकाशन हुन्थे । हुलाकमार्फत् राधिकाको हातमा ती पत्रिका आइपुग्थे । आफ्नो रुची भएको विधाको पत्रिका हातमा परेपछि को नै खुशी नहोला र ? उनी पत्रिका आएकै ठेगानामा गीत, कविता, गजल लेखेर हुलाकमार्फत् पठाउँथिइन्। पत्रिकाको नयाँ अंकमा उनको सिर्जना पनि छापिएर आउँदा राधिकालाई जीवनकै ठूलो खुशी र प्रेरणाको अनुभव हुन्थ्यो ।

राधिकाको रुची साहित्य भए पनि सपना भने मिडिया अर्थात् सञ्चारमाध्यमको देख्थिइन् । त्यही सपनालाई पूरा गर्न एसएलसी पास गरेपछि रेडियोमा काम गर्न सुरु गरिन् ।

‘अरुका गीत बजाउँदै गर्दा आफ्ना गीत पनि रेकर्ड भइदिए हुन्थ्यो भन्ने सपना देख्थिइन् । ‘गीत रेकर्डको सपना मैले रेडियो यात्रा सुरु गरेपछि मात्रै देखेकी हुँ । तर, त्यतिबेला हेटौंडामा गीत रेकर्डिङ स्टुडियो थिएनन् । गीत गाउन थालेपछि गायक, गायिका काठमाडौं नै बस्थे। कसैसँग भेटघाट हुँदैनथ्यो’, राधिका सम्झिन्छिन् ।

‘प्लस टु’को पढाई सकेपछि उनी काठमाडौं आएर रेडियोमै काम गर्न थालिन् । काठमाडौं आएपछिमात्र उनी गीत रेकर्डको सपना पूरा हुनेमा ढुक्क भइन् । २०७० सालमा उनले पहिलो गीत ‘जिन्दगीले आफैंलाई छल्दा खेरी रोएँ’ बोलको गीत गायिका अन्जु पन्तको स्वरमा रेकर्ड गराइन् । सागर अधिकारीको संगीत रहेको उक्त गीत सुरुमा म्युजिक नेपालबाट अपलोड भएको थियो ।

त्यसपछि उनको भेट बिन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीसँग भयो । सुवासले एल्बम निकाल्ने प्रस्ताव गरेपछि २०७२ को फागनुमा बिन्धबासिनी म्युजिकले ‘किनारा’ नामक एल्बम बजारमा ल्यायो । यो एल्बममा राधिकाका ६ वटा गीत छन् । एल्बमको ‘जति छाल आए पनि’ बोलको गीत त्यो वर्षको बिन्धबासिनी म्युजिक अवार्ड र म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मा परेको थियो । एल्बमले राम्रै रोयल्टी पनि प्राप्त गरेको थियो ।

समय सधैं एकनासले चल्दैन । राधिकाको जीवनमा पनि त्यही आइलाग्यो । पारिवारिक विखण्डनका कारण उनी संगीतमा सक्रिय हुन सकिनन् । भलै उनले संगीतलाई चट्क्कै भने छोडिनन् । तर, गीत लेखनको र रेकर्डको गति भने मन्द भयो ।

उनले अघिल्लो वर्ष तारा अधिकारीको स्वरमा ‘न त तिमीले दिएको चोट देखाउन सके’ बोलको गीत बजारमा ल्याइन् । यो वर्ष राधिका तीजको गीत लिएर पुनः आफ्ना स्रोता माझ आएकी छिन्। ‘यो तीजको गीत मेरो गीत र संगीतमा दोस्रो इनिङ हो’, राधिका भन्छिन् ।

उनको तीज गीत ‘माइती देशको घाउ’मा काव्य आचार्य र मिना नेपालीको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजागाईंले संगीत संयोजन गरेका छन्। गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा ब्यक्त गरिएको छ । सुखको खोजीमा मानिस जहाँ पुगे पनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ ।

गीतकाे लिंक : https://www.youtube.com/watch?v=8IPlQJ4wZwU

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्