Logo
२२ बैशाख २०८१, शनिबार
(July 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा माग्नेलाई प्रचण्डको जवाफ : मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताएका हुन् ।

‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्‍यो भनेर विगत हेर्नुभयो भने हुन्छ’, प्रधानमन्त्रीले भने, ‘हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयोक्यारे तपाईँको ।’

उनले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । ‘पहिलापहिलाको हेर्नुभयो भने दुईदुई पटक मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा तपाईँले पढ्नुभएको छ ? कस्तो परिस्थितिमा दिएँ, के आधारमा दिएँ ? छातीमा हात राखेर त्यसमा पनि गहिरोसँग विचार गर्न नैतिकता कसले देखायो, कसले देखाएन ?’, प्रचण्डले प्रश्न गरे ।

उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे । ‘ दुवै पटक नैतिकताको धरातलमा टेकेर नै मैले प्रधानमन्त्री छोडेको हो’, प्रचण्डको भनाइ छ ।

उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए ।

‘अहिले पनि मेरो अन्तरआत्माले । तपाईँले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तरआतमाले भन्यो भने एक मिनेट पनि बस्दिनँ म’, प्रधानमन्त्रीको जवाफ छ । तर उनले प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुन आग्रह पनि गरे ।

प्रकाशित मिति: Jul 10, 2023

प्रतिक्रिया दिनुहोस्