Logo
५ जेष्ठ २०८१, शनिबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माता कम्पनीले प्रष्टीकरण दिएपनि काठमाडौं र पोखरामा भारतीय चलचित्र प्रदर्शनमा रोक

भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले पत्र पठाएर चलचित्रको संवादबारे प्रष्टीकरण दिएपनि आज सोमबारदेखि काठमाडौं र पोखरा महानगरमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भएको ‘सीता भारतको छोरी हुन्’ संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी बताएको छ ।

महानगरपालिकाले बिहानैदेखि हलहरूमा नगर प्रहरी खटाउने भएको छ । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ,’ महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन् ।

यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो ।

महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन् ।

पत्रमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म नगर क्षेत्रभित्रका हलमा अन्य भारतीय प्रदर्शन पनि रोक्न निर्देशन दिइएको छ ।

रामायणको तथ्यलाई बंगाएर कथा तोडमोड गरेको भन्दै आदिपुरुषको भारतमा पनि आलोचना भइरहेको छ । यसैबीच भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ ।

आइतबार सो कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो ।

कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ । यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ ।

यता बालेनले भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने बताएका छन् । शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण गरेका छन् ।

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्