Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास मोडेलबारे फरक ढंगले सोच्नुपर्ने अवस्था आएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भइरहेको विकास पद्धतिका बारेमा फरक ढंगले सोच्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्दै उनले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले योजनाबद्ध विकासको प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

उत्पादन रोजगारीको क्षेत्रमा प्रगति उत्साहजनक नभएको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबारलाई सुचारु गर्ने निर्णय गरिएको उनले उल्लेख गरे । पछिल्लो समयमा व्यावसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हाबी हुनु दुःखद भएको उनले बताए ।

उनले भने, कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थिर रहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले उच्च मुद्रास्फीति र अस्थिर ब्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपर्युक्त कदम चाल्ने विश्वास दिलाए ।

निजी क्षेत्रका समस्या समाधान गर्नको लागि सरकार तयार रहेको उनले बताए । उनले सरकारले नयाँ योजनाभन्दा पनि महत्पूर्ण आयोजनालाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनीको पर्यटन विकास गरेमात्रै देशको आर्थिक अवस्था सुधार हुने बताए । गौतमबुद्ध विमानस्थललाई पूर्णरूपमा सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । विमानस्थलबाट लुम्बिनीमा पर्यटन ल्याउन सकिने भएको यसको महत्त्व अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको उनले बताए ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संघीयता कार्यान्वयन गर्नका लागि प्रहरी प्रदेशमा दिनुपर्ने बताए । प्रहरी विनाको प्रदेश सरकार कसरी हुन्छ भन्दै उनले प्रश्न गरे । संधीयता कार्यान्वयन गर्न संविधानले तोकेको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।

प्रकाशित मिति: Jun 8, 2023

प्रतिक्रिया दिनुहोस्