Logo
१५ बैशाख २०८१, शनिबार
(May 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानबाट सारिँदै एसिया कप, आयोजनामा तीन राष्ट्रको दाबी

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सारिने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सोमबार प्रतियोगिता पाकिस्तानबाट अन्यत्र सार्ने निर्णय गरेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

तर, एसीसीले आधिकारिक रूपमा भने यस विषयमा केही बताएको छैन । खासगरी भारतीय सञ्चारमाध्यमले प्रतियोगिता पाकिस्तानबाट सारिएको दाबी गरेका छन् । एसीसीका अध्यक्ष जय शाह भारतीय नागरिक हुन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)द्वारा अघि सारिएको ‘हाइब्रिड मोडल’ लाई एसीसीले अस्वीकार गरेको दाबी समाचारमा गरिएको छ । यसअघि एसीसीले एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो ।

तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगितामा सहभागी हुन आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि यस विषयमा विवाद सुरु भएको थियो । दुई देशबीचको राजनीतिक सम्बन्धका कारण बीसीसीआईले भारतीय टोली पाकिस्तान नपठाउने निर्णय गरेको हो ।

भारतीय टोलीले पाकिस्तानमा नखेल्ने भएपछि पीसीबीले ‘हाइब्रिड मोडल’ अगाडि सारेको थियो । ‘हाइब्रिड मोडल’ मा एसिया कपका अन्य खेल पाकिस्तानमै गराउने तर, भारतीय टोलीको खेल भने पाकिस्तान बाहिर ‘न्युट्रल भेन्यू’ मा गराउने प्रस्ताव राखिएको थियो ।

सुरुमा एसीसीका अध्यक्ष शाह ‘हाइब्रिड मोडल’ प्रति सकारात्मक देखिए पनि भारत फर्किएपछि भने उनले उक्त प्रस्तावको विपक्षमा आफ्नो धारणा राखेका थिए । त्यसपछि अहिले आएर एसीसीले उक्त प्रतियोगिता अन्यत्र सारेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

दि इन्डियन एक्सप्रेस, इन्साइड स्पोर्टस, इन्डिया टिभी, सर्कल अफ क्रिकेट, पीटीआईजस्ता भारतीय सञ्चारमाध्यमले पाकिस्तानको ‘हाइब्रिड मोडल’ लाई एसीसीका सदस्य राष्ट्रहरूले अस्वीकार गरेका दाबी गरेका छन् । पीसीबीले भने यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान क्रिकेट बोर्डले पनि आगामी एसिया कप आयोजना गर्न चासो देखाएको छ । तर, एसीसीले यस विषयमा कुनै ठोस निर्णय गरिसकेको छैन । सोमबार पीसीबीका अध्यक्ष नजाम सेठी पनि एसीसीका अन्य सदस्य राष्ट्रको समर्थन बटुल्न दुबई पुगेका थिए ।

पाकिस्तानले अर्को प्रस्ताव पनि अगाडि सारेको छ । पाकिस्तानले आफ्ना खेलहरू घरेलु मैदानमा खेल्ने र भारतले आफ्नो खेल युएईमा खेल्ने प्रस्ताव समेत अगाडि सारिएको थियो । तर, पाकिस्तानको उक्त प्रस्तावमा समेत सदस्य राष्ट्रहरू सहमत नभएको दाबी समाचारमा गरिएको छ ।

प्रतियोगिता सर्ने भएपछि एसिया कपमा पाकिस्तानको सहभागिता समेत अनिश्चित भएको दाबी पनि समाचारमा गरिएको छ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र नेपाल रहेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।

नेपाली टोली हालै घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो । नेपालले फाइनलमा यूएईलाई हराएको थियो । २१ वर्षअघि पनि नेपाली टोली एसिया कपमा छनोट भएको थियो । त्यतिबेला पनि भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धका कारण प्रतियोगिता रद्द भएको थियो ।

प्रकाशित मिति: May 9, 2023

प्रतिक्रिया दिनुहोस्