Logo
६ जेष्ठ २०८१, आईतबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ६२ जनासँग जनही ४० हजार धरौटी माग

राज मेहता/विराटनगर

एसईई परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने मध्ये मोरङका दुईवटा परीक्षा केन्द्रबाट पक्राउ परेका ६२ जनालाई जिल्ला अदालत मोरङले जनही ४० हजार रूपैयाँ धरौटी माग गरेको छ ।

खुल्ला शिक्षा कार्यक्रम अन्तर्गत ट्यूसन इन्स्टिच्यूट सञ्चालक सन्तोष राईलाई भने एक लाख रूपैयाँ धरौटी माग गरेको छ ।

गत चैत २३ गते बिहीबार मोरङको ग्रामथान गाउँपालिका-२ सरस्वती नमुना मावि, केराबारी-७ स्थित सार्वजनिक मावि र सुन्दरहरैंचाको जनता मावि पचाम परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी एकैदिन पक्राउ परेका थिए ।

उनीहरूले विभिन्न ट्युसन सेन्टर र इन्स्टिच्यूटको आर्थिक चलखेलमा परेर सक्कली परीक्षार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसिएको प्रवेश पत्रसहित परीक्षा केन्द्रबाट परीक्षा दिएको अनुसन्धानमा खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले चैत २२ गते बुधबारको अनिवार्य विज्ञान विषयको परीक्षामा ग्रामथान गाउँपालिका-२ सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट सुनसरीको धरान उप-महानगरपालिका-५ की २८ वर्षीया कल्पना लिम्बूलाई पक्राउ गरेपछि नक्कली परीक्षार्थीको संजाल नै परीक्षामा सहभागी भइरहेको सूचना पत्ता लागेको थियो ।

ऊक्त सूचना अनुसार चैत २३ मा गरिएको अनुगमनका त्रममा तीनवटा विद्यालयमा रहेको परीक्षा केन्द्रमा परीक्षा दिइरहेका ठूलो संख्याका नक्कली परीक्षार्थीहरू पक्राउ परेका थिए ।

त्यसपछि गरिएको अनुगमनमा मोरङमा खुल्ला शिक्षा कार्यक्रम सञ्चालित विद्यालयबाट परीक्षा दिइरहेका थप १८१ जना विद्यार्थी परीक्षामै अनुपस्थित बनेका थिए । नक्कली परीक्षार्थीहरूको जालो नै पत्ता लागेपछि पक्राउ परेका सबै परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो ।

प्रहरीले पक्राउ परेका नक्कली विद्यार्थीहरूलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा पक्राउ परेकामध्ये ग्रामथान गाउँपालिका-२ सरस्वती नमुना माविका ४७ जना र सुन्दरहरैंचाको जनता मावि पचाम परीक्षा केन्द्रका १५ जना विरूद्ध प्रारम्भिक थुनछेक सुनुवाई गर्दै सोमबार र मंगलबार गरी ६२ जनालाई जनही ४० हजार रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सरस्वती नमुना माविका दिपीका सार्कीसमेत १०३ जनाविरूद्धको परीक्षा कसुर सम्बन्धी मुद्दाका १५ जना विरूद्ध जनही ४० हजार रूपैयाँ धरौटी माग गर्ने आदेश दिएका हुन् ।

सोही परीक्षा केन्द्रबाट पक्राउ परेका १२ जना नाबालकहरूलाई भने अभिभावकको जिम्मामा छाड्ने आदेश दिएको छ । त्यसैगरी इन्स्टिच्युट सञ्चालक सन्तोष राईसँग एक लाख रूपैयाँ माग गर्ने आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

‘सरस्वती नमुना मावि परीक्षा केन्द्रबाट पक्राउ परेका ४७ जनालाई जनही ४० हजार र इन्स्टिच्युट सञ्चालक सन्तोष राईलाई एक लाख रूपैयाँ धरौटी माग गर्ने आदेश भएको छ’ बुढाथोकीले भने, ‘यो मुद्दामा ४७ पक्राउ परेका र ५६ जना फरार रहेका गरी १०३ जनालाई प्रतिवादी बनाइएको छ, थप १२ जना बालबालिका रहेका छन् ।’

सुन्दरहरैंचाको जनता मावि पचामबाट पक्राउ परेका १५ लाईसमेत जनही ४० हजार रूपैयाँ धरौटी माग गर्ने आदेश मंगलबार भएको छ । १९ जना फरारसहित ३४ जनाविरूद्ध परेको मुद्दामा न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले पक्राउ परेका १५ जनालाई धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए ।

मोरङमा सातवटामा खुल्ला शिक्षा कार्यक्रम सञ्चालित रहेका थिए । ती विद्यालयमध्ये तीनवटाले भर्ना लिएका विज्ञान र सामाजिक विषयका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

अनुगमनका क्रममा परीक्षार्थीहरूको व्यक्तिगत विवरणको चेकजाँच गर्दा नक्कली परीक्षार्थी पक्राउ परेका थिए । १८१ जना भने पक्राउ पर्ने डरले त्यसपछिका परीक्षामा अनुपस्थित भएका थिए ।

फर्जी परीक्षार्थी बनेर परीक्षा दिन गएका अघिकांश परीक्षार्थीहरू ट्यूसन सेन्टर र ल्याङ्ग्वेज इन्स्टिच्यूटबाट परिचालित रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।

ट्यूसन सेन्टर सञ्चालकहरूले खुल्ला शिक्षातर्फ भर्ना भएका विद्यार्थीहरूबाट एसईई पास गराइदिने प्रलोभनमा पारेर ४० हजार रूपैयाँसम्म असुल गरेको जनाइएको छ ।

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्