Logo
२२ बैशाख २०८१, शनिबार
(April 27, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी इटहरी नगरको एक इञ्च पनि भूमि मिच्दैनौँ । आफ्नो सीमा छोड्दैनौँ : मेयर हर्क सम्पाङ्ग

जुगेश दास
सुनसरी । कोशी प्रदेश स्थित सुनसरीको धरान उपमहानगर प्रमुख हर्कराज राई ‘सम्पाङ्ग’ ले आफ्नो नगरको सिमाना खोज्नु आफ्नो अधिकार भएको बताएका छन् ।

नगरप्रमुख राईले पत्रकार सम्मेलन गर्दै आधिकारिक साँध सिमाना खोज्नु र आफ्नो क्षेत्राधिकार यकिन गर्नु आफ्नो कर्तव्य भएको पनि बताए । पत्रकार सम्मेलनमा नगरप्रमुख राईले भने, ‘हामी इटहरी नगरको एक इञ्च पनि भूमि मिच्दैनौँ । आफ्नो सीमा छोड्दैनौँ ।’

उनले इटहरी उपमहानगरले आफूले सीमा दाबी गरेको विषयमा चित्त नबुझे सम्पर्क गरेर सोध्नुपर्ने बताए । उनले बोर्ड उखेलेको विषयमा आपत्ति जनाए ।

‘स्थानीय सरकारले लगाएको सरकारी बोर्ड कथित समूहले उखेलेर फाल्न मिल्छ ? के भन्न खोेजेको ? के गर्न खोजेको ? राज्य छैन ?’–उनले प्रश्न गरे । नगरप्रमुख राईले वैशाख १० गते धरानको दक्षिणमा पर्ने पानीपियामा सीमा प्रारम्भ लेखिएको बोर्ड गाडेका थिए । उक्त बोर्ड युवा सङ्घ इटहरीले उखेलेर फालेको थियो । नगरप्रमुख राईले तथ्यलाई जित्न नसकिने बताउँदै भने, ‘नेपाल सरकार र नापी विभागले जारी गरेको नक्सा आधिकारिक हो ।’

सोही आधारमा आफ्नो सिमानाभित्र बोर्ड राखेको उनले बताए । नगरप्रमुख राईले बोर्ड उखेलेर लैजाने समूहलाई कानून बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको बताए । उनले भने, ‘सिमाना भत्काउने, अराजकता मच्चाउने छुट कसैलाई छैन । कानून बमोजिम कारबाही हुनुपर्छ, र त्यो बोर्ड त्यहीँ राख्नुपर्छ ।’

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख हुमकला पाण्डेले दुवै पालिकाबाट आवश्यक कारबाही गर्न पत्र आएको बताइन् । तर, उनले सीमा विवाद नितान्त राजनीतिक र संवैधानिक विषय भएकाले आपसी समन्वयमा समाधान गर्नुपर्ने बताइन् ।

उनले काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाको सीमा विवाद समाधानको उदाहरण दिँदै भनिन्, ‘जिल्ला समन्वय समितिले प्रदेश सरकारमा पठाएको र प्रदेश सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कारबाहीका लागि पठाएको थियो ।’

उनका अनुसार राजपत्रमा प्रकाशित भएकोमा राजपत्रमा प्रकाशित गर्न सम्बन्धित मन्त्रालयमा पठाउनु पर्छ । पत्रकार सम्मेलनमा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले नापी विभागबाट जारी भएको नक्साको आधारमा सिमानामा बोर्ड राखेको बताए ।

उनले धरानको सिमानामा परेको धरान क्षेत्रको प्राकृतिक सम्पदा उपभोग गर्नमा रोक नलगाउने बताए । उनले भने, ‘प्राकृतिक सम्पदा, पानी उतैका जनताले उपभोग गर्छन्, तर हाम्रो साँधसिमाना यहाँसम्म हो भनेको हो ।’

धरान नगरका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले प्रहरीले सेउती पुलमा राखेको बोर्डको आधारमा स्थानीय तहको सिमाना दाबी गर्नु तथ्यपरक नभएको बताए । उनले भने, ‘सरकारले प्रमाणीकरण गरेको नक्सा मान्दिनँ भन्नु न्यायसङ्गत हुँदैन ।’

प्रकाशित मिति: Apr 27, 2023

प्रतिक्रिया दिनुहोस्