Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्योल नभइसकेको बताएका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताए ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए । केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने तय भएको हो । राप्रपाले आफ्नो उम्मेदवार राष्ट्रपतिमा नउठाउने तर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा सोही दिन छलफल हुने उनले बताए ।

राप्रपाका केही पदाधिकारी र सांसदहरूले नै राष्ट्रपति निर्वाचन बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् । राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले राष्ट्रपति चुनावमा भाग लिने र नलिने भन्ने विवाद उठेमा आवश्यक परे मत विभाजनबाट निर्णय लिइने बताए ।

राप्रपाका एक नेताले भने केन्द्रीय सरकारमा सहभागी हुने, प्रदेश सभामा सभामुख र सरकारमा सहभागी हुने अनि राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने निर्णय गर्न नसकिने बताएका छन् ।

राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने भएको छ ।

प्रकाशित मिति: Feb 21, 2023

प्रतिक्रिया दिनुहोस्