Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रिकेटर र क्लब व्यवस्थापकबीच अमेरिकामा दोस्ती, नेपालमा स्पट फिक्सिङ

नेपाल टी–ट्वान्टी क्रिकेट लिगको स्पट फिक्सिङमा वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकार्थीको संलग्नता देखिएको छ । म्याकार्थीले विराटनगर सुपरकिङ्गसबाट २०७९ पुस ९ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टि–ट्वान्टी लिग खेलेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानबाट फिक्सिङमा म्याकार्थीको संलग्नता देखिएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुरुवाती पाँच खेलमा म्याकार्थी विराटनगर सुपर किङ्सको कप्तान थिए । म्याकार्थीको भूमिकाबारे प्रश्न उठेपछि उनलाई हटाएर क्लबले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिएको थियो । स्पट फिक्सिङमा विराटनगर सुपर किङ्गसका मेनेजर राहुल शर्मा पनि संलग्न देखिएका छन् ।

भारतीय मूलका शर्मा अमेरिकामा बस्छन् । अमेरिकामा बस्दा म्याकार्थीसँग उनको चिनजान भएको थियो । अमेरिकामा क्लब गेम खेल्दै आएका म्याकार्थीसँग दोस्ती भएपछि राहुलले नै उनलाई नेपालको लिग खेल्न ल्याएका थिए ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहितलाई पछि पारेर राहुलले म्याकार्थीलाई कप्तान बनाएको जानकारहरू बताउँछन् । रोहितले नै नेपाल क्रिकेट संघ (क्यान) लाई म्याकार्थीको भूमिका शङ्कास्पद देखिएकोबारे जानकारी गराएका थिए ।

लिगमा स्पट फिक्सिङ गराउन दुईवटा समूहको संलग्नता रहेको प्रहरीको ब्यूरोको निष्कर्ष छ । ब्यूरोका डिएसपी सुन्दर तिवारीसहित ५ जनाको छानबिन समितिले पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमसहित दुईवटा समूहले ‘स्पट फिक्सिङ’ गराएको प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनका आधारमा प्रहरीले माघ ९ मा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुव आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ ।

अन्सारीले भर्खरै सम्पन्न लिगमा फिक्सिङ गरेर खेलेको ब्यूरोको निष्कर्ष छ । फिक्सिङमा क्रिकेटर अन्सारीसहित नेपालका ४ जना संलग्न छन् ।

लिगको व्यवस्थापन गर्ने जिम्मा लिएको कम्पनी सेभेन–३ स्पोर्टको व्यवस्थापक मध्येका ४ जना स्पट फिक्सिङमा संलग्न देखिएका छन् । लिगमा सहभागी विदेशी खेलाडी एकजना र अर्का एकजना बिचौलिया संलग्न देखिएको ब्यूरोका एसपी सञ्जय सिंह थापाले बताए ।

प्रकाशित मिति: Jan 26, 2023

प्रतिक्रिया दिनुहोस्