Logo
१५ बैशाख २०८१, शनिबार
(July 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ ‘मिस लिटिल आइडल’को खोजी

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२२’ को खोजी सुरु गरेको छ । आयोजकका अनुसार शैक्षिक कोर्षमा नसमेटिएका, तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन आयोजना हुँदै आएको यो प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष रोकिएको थियो ।

प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउने जानकारी दिए । ‘बालिकामा निहित प्रतिभा प्रस्फुटन, आत्मविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न यसले मद्दत पु¥याउने छ’, राईले भने, ‘प्रतियोगिता २८ साउनमा सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना हुने छ ।’
प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई दाहालले प्रतियोगितामा परिचय राउन्ड, कल्चरल राउन्ड, स्पिच राउन्ड, टप १५ राउन्ड र टप ७ राउन्ड गरी पाँच चरणमा प्रतिस्पर्धा गराइने जानकारी दिइन् । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर समयअनुसार आवश्यक ज्ञान दिन र छात्राहरूमा निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, उपाध्यक्ष राईले भनिन्, ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता चाहिन्छ । यो समयको माग हो ।’

प्याब्सन काठमाडौंले उपाध्यक्ष रीता राईको संयोजकत्वमा सूर्य भण्डारी, अनिल पराजुली, कृष्ण भण्डारी र जेसिका चेम्जोङ सम्मिलित पाँच सदस्यीय कार्यक्रम संयोजन समिति गठन गरेको छ । आयोजकका अनुसार विद्यालयको सिफारिसमा प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा लगभग ६० जना छात्राहरूलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने छ ।

७ साउनदेखि प्रशिक्षण सुरु गरी २८ साउनमा अन्तिम प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । सन् २००९ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौं संस्करण हो ।

प्रकाशित मिति: Jul 19, 2022

प्रतिक्रिया दिनुहोस्